स्थानीय निकायको निर्वाचनले संघीयतालाई बलियो बनाउने माधव नेपालको तर्क, तत्काल स्थानीय निकाय निर्वाचन घोषणा गर्न सरकारसँग माग
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले माघ ८ मा नै संविधान आओस् भन्ने पक्षमा सबै राजनीतिक दल तथा विदेशी शक्ति पनि रहेको बताउनुभएको छ । प्रेस चौतारी पर्सा शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा आफ्ना नेता नेपालले माघ ८ मा संविधान जारी गर्नुको विकल्प नेपालका राजनीतिक दलमा नभएको बताउनुभयो । आर्थिक रूपमा मुलुक जर्जर अवस्थामा पुगेका कारण संविधानका लागि धेरै वर्ष कुरिरहनु उपयुक्त नहुने नेता नेपालको भनाइ छ । स्थानीय निकायको निर्वाचनले सङ्घीयतालाई झनै बलियो बनाउने तर्क गर्दै उहाँले तत्काल स्थानीय निकायको निर्वाचन सरकारले घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । नेता नेपालले समग्र मधेस वा प्रदेशभन्दा पनि आफूहरू नेपाल राज्यकै पुनः संरचना गर्न लागेका कारण राज्यको पुनः संरचना पहिचान र सामथ्र्यका आधारमा मात्रै हुने बताउनुभयो । जातीय आधारमा र धर्मको आधारमा मुलुक सङ्घीयतामा जान नसक्ने भन्दै उहाँले जात र धर्मको कुरा निकै संवेदनशील कुरा भएकाले यस्ता विषयमा कसैले पनि सहज रूपमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । आफूहरू सहमति हिसाबमा मुलुकमा संविधान जारी होस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै नेता नेपालले सहमति नभए प्रक्रियाबाट वा नियमअनुसार संविधान जारी हुने बताउनुभयो । चौतारीका अनुप तिवारीको अध्यक्षतामा भएको पत्रकारसम्मेलनमा सभासद्हरू नागेन्द्र चौधरी, रामचन्द्र साह, जुनेद अन्सारी, राजकुमार गुप्तालगायतको सहभागिता थियो ।