अफगानिस्तानको विषयमा लण्डनमा आजदेखि बैठक, पाकिस्तान पनि सहभागी बन्ने
पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ अफगानिस्तानको बारेमा हुन लागेको लन्डन सम्मेलनमा सहभागी हुनुहुने भएको छ । सो बैठकमा सहभागिताका लागि उहाँ बेलायत जान लाग्नुभएको पाकिस्तानी विदेशमन्त्रालयले मङ्गलबार जनाएको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पाकिस्तानी प्रधानमन्त्री शरिफलाई गत अक्टोबर २८ मा नै टेलिफोन गरी निमन्त्रणा दिनुभएको बताइएको छ । अफगानिस्तानका बारेमा लन्डनमा आजदेखि दुई दिनसम्म लन्डनमा सम्मेलन हुन लागेको हो । सो सम्मेलनको आयोजक राष्ट्र बेलायत हो । सो सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी पनि सहभागी हुनुहुने छ । सो सम्मेलनमा सहभागिताका लागि अफगानिस्तानको सरकारका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाह पनि जानुहुने बताइएको छ । सो सम्मेलनमा विश्वका ५० देशको सहभागिता रहने छ । साथै हिंसाको चपेटामा रहेको अफगानिस्तानलाई विगतदेखि सहयोग गर्दै आएका विभिन्न १५ वटा दातृ संस्था पनि सो सम्मेलनमा सहभागी हुँदैछन् । अफगानिस्तानलाई आर्थिक र विकासका क्षेत्रमा सहयोग पु¥याउँदै आएका ती राष्ट्र र निकायले आगामी दिनमा पनि अफगानिस्तानलाई के कस्तो मात्रामा सहयोग पु¥याउने भन्ने बारेमा सो सम्मेलनमा छलफल हुने बताइएको छ । अफगानिस्तानमा १० वर्षभन्दा लामो समयदेखि नेटो सैनिकले सुरक्षाको जिम्मा लिइरहेको छ । तर ती सैनिक यसै महिनाको अन्त्यसम्ममा फर्किने छन् । अफगानिस्तानको सुरक्षाको जिम्मेवारी लिएका नेटो सैनिकसम्बद्ध राष्ट्रहरुले सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट फिर्ता हुने निर्णय यसअघि नै गरिसकेका छन् । तर पनि पछिल्लो समयमा नेटो सैनिकको फिर्ताको समय नजिकिँदै गर्दापनि त्यहाँको सुरक्षाको अवस्था मजबुद भने हुन सकेको छैन । त्यसैलै अफगानिस्तानको भविष्यको विषयलाई लिएर विश्वका कतिपय देशहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् । सन् २०१४ पछि पनि त्यहाँ सीमित सङ्ख्यामा अमेरिकी सैनिक बस्ने भएका छन् । तर अमेरिकी सैनिक त्यहाँको सुरक्षाका लागि फिल्डमा नै खटिने नभई सुरक्षा सल्लाहकारका रुपमा रहने सम्बन्धी सम्झौता यसअघि नै यी दुई देशले गरिसकेका छन् । पाकिस्तानको विदेशमन्त्रालयले मङ्गलबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी अफगानिस्तानको सुरक्षाका बारेमा पाकिस्तानको पनि चासो रहेकोले सो सम्मेलनमा पाकिस्तानको सहभागिता हुन लागेको जानकारी दिएको छ । अफगानिस्तानमा लामो समयदेखि हिंसा मच्चाइरहेका तालिवानहरुले त्यहाँ विदेशी सैनिक एवम् दाताहरुको सहयोगको विरोध गर्ने गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री शरिफले लन्डनमा रहुन्जेल त्यहाँका प्रधानमन्त्री डेभिड क्यामरुनसँग द्विपक्षीय हितका बारेमा पनि कुराकानी गर्नुहुने जानकारी पनि दिइएको छ ।