चालकको हातमा यात्रुको जीवन, अनुगमन गर्ने निकाय नहुँदा नेपाली जनताले पाए धेरै सास्ती
कालिका खड्का
“यात्रा गर्न पनि डर लाग्छ, सकुशल घर पुगिन्छ कि पुगिँदैन” पुरानो बसपार्कबाट गाडी चढेर रामेछाप जान लागेकी ६२ वर्षीया भवानी पौडेलले गाडीलाई ढोगेर आफ्नो सिटमा बसिन् । दैनिकजसो समाचारमा बस दुर्घटना भयो, यति मरे, यति घाइते भए भन्ने शब्दले उनलाई गाडी चढ्न अत्यास लागेर आउँछ । भवानीलाई मात्र हैन, ओखलढुङ्गा निवासी ४६ वर्षीया रमा राईलाई पनि घर नपुगेसम्म पुगिन्छ कि पुगिदैन भन्ने त्रास भइरहन्छ । श्रृङ्खलाबद्ध रुपमा भएका सवारी दुर्घटनाले आम नागरिकलाई सवारी साधनमा यात्रा गर्न पनि डराउनुपर्ने अवस्था सिर्जना भएको छ । मानिसका लागि सवारी यात्रा दुःखद् बाध्यता बनेको छ । नजाउँ भने गन्तव्यमा पुग्न नसकिने, जाउँ मृत्युको मुखमा पुग्ने खतरा छ । मनमा डर, त्रास लिएर मानिसहरू सवारी साधनमा चढ्न विवश छन् । धरैजसो चालकको लापर्बाही र तीव्र गतिका कारणले सवारी दुर्घटना हुने गरेको तथ्य सार्वजनिक भएको छ । गत महिना बबरमहलमा बा१ख ८७७६ नम्बरको बस दुर्घटना भयो । महानगरीय प्रहरी वृत्त सिंहदरबारको अध्ययनअनुसार दुर्घटना हुनुको मुख्य कारण चालकको लापर्बाही थियो । बसचालक चन्द्रबहादुर लामाले मदिरा सेवन गरी बस चलाएको अनुसन्धानबाट खुलेको छ । जुन दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । अहिले चालक लामा पूर्पक्षका लागि जेलमा छन् । यही मङ्सिर १३ सुदूरपश्चिमको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको ना ५ख ५४२० नम्बरको बस भीमदत्तपन्त राजमार्गको सहजपुरमा भासुभिर नजिकै सडकबाट खस्दा १२ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भए । त्यस्तै, गत कात्तिक १५ गते इलामबाट राजधानीका लागि छुटेको ना५ख ४८४१ नम्बरको मेट्रो डिलक्स मकवानपुरको बस्तीपुरमा शुभश्री डिलक्ससँग जुध्दा १० जनाको मृत्यु भएको भयो । गत कात्तिक १८ गते हटौडामा बस दुर्घटनामा परी सात जनाको मृत्यु र नौ जना घाईते भएको थिए । जुन बस खलासीले चलाउँदा दुर्घटना भएको थियो । गत असोज २० गते डोटी जिल्लाको जोरायलबाट आउँदै गरेको यात्रु बस छतिवन गाविसमा दुर्घटनाग्रस्त भई ३० जनाको मृत्यु भयो । बसको क्षमताभन्दा बढी यात्रु भएका कारण सो दुर्घटना भएको थियो । नेपालीको महान् चाड दसैँको समयमा भएको यस दुर्घटनाले सबैलाई मर्माहत तुल्यायो । सरकारले यस घटनाको सम्बन्धमा जाँचबुझ गर्न समिति पनि गठन ग¥यो । समितिले अध्ययन गरी प्रतिवेदन बुझाइसकेपनि त्यसको कार्यान्वयनतर्फ सम्बन्धित निकाय गम्भीर नहुँदा त्यसवपछि पनि दिनहुँजसो यसखालका दुर्घटनाहरू भइरहेका छन् । थोत्रा सवारी, सडकको आधारमा सवारी साधन सञ्चालन गर्ने अनुमति, सवारी साधनको अवस्था, चालक, परिचालक तथा सञ्चालकलाई आवश्यक ज्ञानजस्ता विषयमा संस्थागत सुधार गर्नुपर्ने सरकारी पक्षको ध्यान गएको छ । “नेपालमा सवारी दुर्घटनामा मानवीय त्रुटी नै मुख्य कारण देखिएको छ । एक दुईवटा सामान्य घटनाबाहेक सडकका कारणले दुर्घटना भएको छैन”–सडक विभागका महानिर्देशक माधवकुमार कार्कीको भनाइ छ । उहाँका अनुसार यातायात व्यवसायीहरूले बसको क्षमताभन्दा तेब्बर बढी यात्रु हाल्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने गरेर सडक दुर्घटनालाई भवितव्य, भौगोलिक विकटता, साँघुरो बाटो, घुम्ती आदिलाई दोष दिएर उम्कन मिल्दैन । कुल १०÷११ जनाको क्षमता रहेको गाडीमा ३०÷३२ जना कोचेर पशुसरह एवम् अमानवीय तरिकाले यात्रुलाई यात्रा गर्न बाध्य बनाउने, बीच बाटैमा गाडी रोकेर यात्रु चढाउने, ओराल्नका साथै अनियन्त्रित तरिकाले सवारी चलाउँदा दुर्घटनाको बढेको छ । महानगरीय ट्रार्फिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा प्रवक्ता बसन्त पन्तका अनुसार पछिल्ला सवारी दुर्घटना चालककै लाहपरवाहीले गर्दा भएको छ । विश्वमा ८० प्रतिशत सवारी दुर्घटना चालकको कारणले हुने गरेको छ । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६८÷६९ देखि २०७०÷७१ सम्मको सवारी दुर्घटनाका कारणलाई अध्ययन गर्दा तीन वर्षमा सवारी दुर्घटना प्रमुख पाँच कारणहरू रहेका छन् । त्यसमा चालकको लापर्बाही ६७ प्रतिशत, तीव्र गति १५ प्रतिशत, यान्त्रिक गडवडी चार प्रतिशत, उछिन्न खोज्दा चार प्रतिशत, यात्रुको गल्तीका कारण चार प्रतिशत र अन्य ६ प्रतिशत रहेका छन । विगत तीन आर्थिक वर्षसम्म कुल २५ हजार ७८२ सवारी दुर्घटनामा परेर पाँच हजार ४४० जनाको मृत्यु भएको छ । त्यसमध्ये ११ हजार ५२० जना गम्भीर घाइते भएका छन भने २३ हजार ६९० साधारण घाइते भएका छन् । नेपालमा प्रत्येक दिन २३ वटा सवारी साधन कुनै न कुनै प्रकारको दुर्घटनामा पर्ने गरेको छन् भने एउटा सवारी दुर्घटनामा सरदर चारभन्दा धेरैको मृत्यु भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक वर्ष २०७०÷७१ को तथ्याङ्कअनुसार कूल सङ्ख्या १६ लाख ६० हजार २५० सवारी साधन छन् । चालकको लापर्बाहीका कारण गाडीमा सवार यात्रु मात्र होइन, पैदल यात्री, सडक छेउमा रहेका व्यक्तिले पनि अनाहकमै ज्यान गुमाउनुपरेको धेरै उदाहरण छन् । दुर्घटनासम्बन्धी स्पष्ट कानुनको अभावमा गाडीले ठक्कर दिंदा सामान्य घाइतेलाई पनि उद्धार गर्नुको सट्टा गाडी पछाडि गरेर मार्ने घटना पनि भएका छन् । भरपर्दो र सुरक्षित सार्वजनिक यातायातको अभावमा मानिसहरू छिटो गन्तव्यमा जानका लागि दुईपाङ्ग्रे वा साना निजी सवारी साधनको प्रयोग गर्न वाध्य हुनुपर्दा सडकको क्षमताभन्दा बढी सावारी साधनको सङ्ख्या भएकले पनि दुर्घटनाहरू बढाएको छ । ठूला बस, ट्रेनजस्ता सार्वजनिक यातायातको व्यवस्था नभएसम्म सडकमा साना सवारीको सङ्ख्या बढ्दै जान्छ र यसले सवारी चापसँगै दुर्घटनालाई पनि बढाउँछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पन्तले भन्नुभयो,“सवारी धनी र चालक अनुशासित हुनेबित्तिकै दुर्घटना घट्छ ।” उपयुक्त सडक निर्माण, कुन रुटमा कति यात्रु हाल्ने, यात्रुको सुरक्षाका ध्यानमा राख्ने, दक्ष नभई सहचालकलाई सवारी चलाउन नदिने र ट्राफिक नियमलाई कडाइका साथ लागू गर्न सकेमा सवारी दुर्घटना कम गर्न सकिन्छ ।