मेलबर्नवासीलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गरिने, फेडेरेसन स्क्वायरमा यस्तो गरिँदै !


जनवरी १ तारिखमा अष्ट्रेलियाको मेलबर्नमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारात्मक कार्यक्रम हुने भएको छ । स्थानीय फेडेरेसन स्क्वायरमा भेला भएर नेपालीहरुले भगवान गौतम बुद्ध, विश्वको सर्वोच्च शिखर सगरमाथा र प्रकृति संस्कृतिको धनी देश नेपालको भ्रमण गर्न आह्वान गर्नेछन् । दिउँसो ३ बजेदेखि ५ बजेसम्म यो प्रचारात्मक अभियान सञ्चालन गरिने भएको छ । एनआरएन अष्ट्रेलिया भिक्टोरिया राज्य समिति, भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूतको कार्यालय, नेपाल पर्यटन बोर्डका प्रतिनिधि चिरञ्जीवी देवकोटा र नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको संयुक्त पहलमा कार्यक्रम हुन लागेको हो । एमएनटीभीसँग कुरा गर्दै एनआरएन भिक्टोरियाका संयोजक प्रेमप्रसाद कँडेलले नयाँ वर्ष २०२० मा रमाइरहेका भिक्टोरियावासीलाई नेपाल भ्रमण वर्ष आयोजना हुँदैछ, यस वर्ष नेपाल भ्रमण गर्ने उपयुक्त अवसर हो भन्ने जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “नेपालमा पनि भव्य कार्यक्रम गरी पर्यटन वर्षको शुभारम्भ गरिँदैछ । हामीले पनि यो बिदाको समयमा होलिडे मुडमा रहेका भिक्टोरियावासीलाई भ्रमणको निम्तो दिन लागेका हौं ।”
आगामी जनवरी ७ तारिखमा सिड्नीमा नेपाल भ्रमण वर्षको अन्तर्राष्ट्रिय अभियानको उद्घाटन गर्ने कार्यक्रम तय भएपनि यसअघि नै मेलबर्नमा पर्यटन प्रचार गर्न लागिएको हो । कँडेलले भने, “हामी सबै भिक्टोरियावासीको संयुक्त प्रयास यसमा छ । हुनत वर्षभरि नै नेपाल भ्रमण वर्षको लागि विभिन्न कार्यक्रम गर्ने हाम्रो योजना छ । तर, सुरुवात जनवरी १ बाट नै होस् भन्ने सबैको सल्लाह बमोजिम यो कार्यक्रम राखेका हौं । यो सुरुवात मात्र हो । वर्षभरि नै नेपालको भ्रमण गर्न प्रेरित गर्ने कार्यक्रमहरु ल्याउछौं ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?