आज किराँतहरुको उधौली पर्व, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा उधौलीको अवसरमा शुभकामना


udhauliराष्ट्रपति डा रामवरण यादवले किराँतहरूको महान् चाड उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । उधौलीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले उधौलीको पवित्र दिनले नेपालका सम्पूर्ण धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ रहेको भएपनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा पनि व्यक्त गर्नुभएको छ । उधौली हामी सबै नेपालीको सामाजिक सामञ्जस्यता कायम राख्ने प्रतीकका रुपमा रहिरहन सकोस् भन्ने कामना पनि राष्ट्रपतिले शुभकामना सन्देशमा गर्नुभएको छ । उपराष्ट्र्रपति परमानन्द झाले किराँत पर्व उधौलीको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । सो पर्वको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उपराष्ट्रपति झाले यस पर्वको माध्यमबाट अन्य समुदायका नेपालीबीच पनि आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले भन्नुभएको छ, “संविधान सभाको दोस्रो निर्वाचनपश्चात देशले जनचाहनाअनुरुपको लोकतान्त्रिक संविधान प्राप्त गर्र्दै स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् तथा राजनीतिक क्षेत्रको गतिरोधलाई सदाका लागि समाप्त गरी सबै नेपालीलाई सुख, शान्ति र समृद्धि प्रदान गरोस् भनी यस अवसरमा हार्दिक कामना गर्दछु ।” रासस
यसैबीच, प्रधानमन्त्री सुशील कोइरालाले किराँतहरुको महान् चाड उधौली पर्वका अवसरमा देश तथा विदेशमा रहेका किराँत समूदायका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले यस पर्वका अवसरमा सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु, सुखशान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । नेपाल अनेक भाषा, धर्म, संस्कृति र परम्परा भएका विभिन्न जातजातिको साझा फूलबारी भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले विविधतायुक्त नेपाली समाजमा निहित सहिष्णुता, सहनशीलता र मिलनसारिता जस्ता सद्गुणले एक आपसमा सौहाद्र्रपूर्ण सम्बन्ध विकसित गरेको उल्लेख गर्नुभएको छ । आजसम्म प्राप्त जनताका अधिकारलाई लिपिवद्ध गरी संरक्षित गर्नु पर्नेमा जोड दिँदै प्रधानमन्त्रीले निर्धारित समयमा संविधान जारी गरी एक समृद्ध र समुन्नत राष्ट्रको निर्माणमा केन्द्रित रहन हामीलाई यस्ता पर्वहरुले सधैँभरी प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?