भारतमा मोतियाबिन्दुको उपचार गर्दा उल्टै आँखै देख्न नसक्ने भए एघार जना
भारतको उत्तरी भागमा एक निःशुल्क आँखा उपचार शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गराउने कम्तीमा ११ व्यक्तिले दृष्टि क्षमता गुमाएको जानकारी स्थानीय अधिकारीहरूले दिएका छन् भने यसरी दृष्टि क्षमता गुमाउने व्यक्तिको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । अधिकारीहरूले एक गाउँमा स्वास्थ्य कल्याणकारी एक संस्थाले सञ्चालन गरेको उक्त शिविरमा ६२ व्यक्तिको शल्यक्रिया भएको जानकारी दिएका छन् । उनीहरूले कति व्यक्तिले दृष्टिक्षमता गुमाए भन्ने निक्र्यौल गरिरहेको बताएका छन् । उत्तरी राज्य पञ्जावको गुरदासपुर जिल्लाका उप प्रशासक अविनव त्रिखाले हालसम्म ११ व्यक्तिले दृष्टिक्षमता गुमाएको पुष्टि भएको जानकारी दिए । हालै भारतको मध्यभागमा एक स्वास्थ्य शिविरमा बन्ध्याकरण गराएका १३ महिलाको मृत्युभएपछि भारतको स्वास्थ्य प्रक्रियाका गुणस्तरका विषयमा नयाँ चिन्ता बढेको छ । यी महिलाको मृत्युमा प्रदूषित औषधि कारण भएको सरकारी अधिकारीहरूले बताएका छन् । गुरु नानक च्यारिटेबल अस्पतालले उक्त आँखा उपचार शिविर अधिकारीहरूको अनुमति नलिइकनै सञ्चालन गरेको जानकारी दिइएको छ र यो संस्थामाथि कानुनी मुद्दा दायर गरिएको बताइएको छ ।