कोरोनाको कहरबीच अष्ट्रेलियाका ठूला महलको किनारामा बसी नेपालको सम्झना
– सन्तोष शर्मा
कोरोनाको कहरमा सबैजना फुर्सदमा छन् केही अपवाद छोडेर । स्वास्थ्य, सुरक्षा र सार्वजनिक क्षेत्रमा काम गर्नेहरु अझ बढी व्यस्त भएका छन् । तर, म फुर्सदमा रहने क्याटोगरीमै छु । म अष्ट्रेलियामा भएपनि म र नेपालको माया संगाली विदेमा शिप र श्रमलाई बेच्न निस्किएको एक मजदूरको भन्दा मेरो अवस्था केही फरक छैन । म जस्तै हजारौ नेपाली बिदेशमा छन्। कोही परिवारसहित छन् त कोही परिबार नेपालमा छोडेर सुदूर भविष्यको उज्यालोलाई नियाल्दै संघर्ष अघि बढाइरहेका छन् । बाध्यता कसको छैन र ? तर, कर्म सबैले जारी राखेका छन् ।
हामीले आफ्नो, परिवारको सुख, सम्बृद्धिको लागि यो कदम उठायौं होला । तर, प्रकारान्तरले देश नै यसबाट लाभान्वित पक्कै बन्नेछ । तर, यो लेनदेनको विषय होइन । हामीसँगै हाम्रो देश, हाम्रो माटो पनि सफल होस् । अघि बढोस् । विश्वचित्रमा नेपालको नाम आओस् । यहाँभन्दा बढी अपेक्षा पनि छैन ।
यतिबेला कोरोना नामक भाईरसका कारण विश्वभर त्रासको वातावरण छ । लाखौं मानिसले ज्यान गुमाइसके, दशौं लाख प्रभावित भइसके । औषधिको खोजी जारी छ सफलता हात लागेको छैन । नयाँ नयाँ प्रयोगहरु भइरहेका छन् । कोही कोरोनालाई जितेर पनि फेरि संक्रमित भइरहेका छन् कोही जित्ने अभियानमै छन् । त कोही संयोगले नै भनौं त्यति धेरै मानवीय क्षति नहुँदा आफैं दंग परिरहेका छन् । हाम्रो मातृभूमि नेपालजस्तो देश जहाँको अवस्था भयावह बन्ने आंकलन थियो धेरैको तर सरकारी प्रयत्न, सर्वसाधारणको साथ र भौगोलिक अवस्था लगायतले हामीलाई अहिलेसम्म सफलता प्रदान गरिरहेको छ । यो गगनचुम्बी भवनहरुको छेउमा बसेर त्यो देशलाई, त्यो माटोलाई सम्झिदा पनि त्यसै भावुक बन्न पुगिन्छ ।
संसार अहिले निकै सानो भै सकेको छ। हामी काम गर्न या अध्ययन गर्न या सिप सिक्न संसारको जुनसुकै ठाउंमा पुग्न सक्छौ तर अन्त्यमा हाम्रो घर त नेपाल हो। हामी नेपाली हौं। पीडा त हुँदो रहेछ प्रवासमा रहेका हामी नेपालीहरुलाई जब हाम्रा आफ्नै आफन्तहरुले यो जटिल घडिमा एक्लाउन खोज्छन् । प्रसंग कोरोनाको कहर बढ्दै जाँदा नेपालमा नेपालीहरुलाई नै प्रवेश रोकिएको हो । अप्ठेरो बेलामा आफ्नै सन्तानलाई घर भित्र छिर्न नदिने ? सुरक्षा बिधि अपनाएर, निश्चिनत समय विशेष निगरानिमा राखेर भित्राउने ब्यवस्था गर्न सकिदैन र ? आफ्नै मूलुकमा पाइला टेक्न नपाउने ? अरु मुलुकले त आफ्नो नागरिक नेपालबाट लगिरहेको छ । हामी किन ल्याउन सक्दैनौ ?
अर्को पाटो पनि छ । बिदेशको सरकारले यो कठीन घडीमा गाह्रो भए केही समयको लागि आफ्नै मुलुक, आफ्नै परिवारसँग जान सकिने सुझाव मात्र आएको हुन्छ । हामी त्यसलाई देश निकालाकै अर्थमा बुझ्छौं यस्तो छ हाम्रो सोच । अष्ट्रेलियाकै सवालमा पनि विद्यार्थीहरु जो भर्खरै पढ्न आएका छन् तिनलाई साह्रै अप्ठेरो परेको भए अहिले देश फर्किएर यो कोरोना कहर शान्त भएपछि फेरि आउन सकिन्छ है भनेको कुरालाई बंग्याउन आवश्यक छैन ।
अन्त्यमा अनुरोध हामी सात समुन्द्रपार बाट,
हामी घर बाहिर पसिना बगाएपनि आखिर घरकै धुरी लगाउनलाई हो। देश भित्र बाहिर जो जहाँ नै रहेपनि सबै मिलेर देशको अर्थतन्त्रमा योगदान दिएकै छौं, र यसरी नै चल्न पनि पर्छ। कोही देश, कोही परदेश हामी सबै खटेका छौ देश बलियो बनाउन । हामी नेपाली, हाम्रो रगत नेपाली, हाम्रो नेपाल । यत्ति सबैले स्मरण गरौं, आफ्नै माटोमा आउन निषेध पनि नगरौं । सानो कुरालाई बढाई चढाई आतंक सिर्जना गर्ने कार्यलाई पनि रोकौं । आजलाइ बस यत्ति ।