पछिल्लो २४ घन्टामा २७८ संक्रमित थपिए,नेपालमा कोरोना संक्रमितको संख्या २,९९२ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २,९९२ पुगेको हो।
बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।
शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ।
अहिले आइसोलेसन दुई हजार पाँच सय ६८ जनाको उपचार भइराखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ । तीमध्ये ३३३ जना उपचारपछि निको भएर डिस्चार्ज्ड भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
शुक्रबारसम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन्। पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन् । आजै मात्र विभिन्न जिल्लाबाट ४३ जना डिस्चार्ज भएका छन।