देशभरकै शिक्षकका शैक्षिक प्रमाणपत्र एकैसाथ छानबिन गर्दै अख्तियार, भागाभाग हुने आशंका
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्ना क्षेत्रीय कार्यालयमार्फत् देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका शैक्षिक योग्यताका प्रमाणपत्र सङ्कलन गरी छानबिन अघि बढाउन निर्देशन दिएको छ । शिक्षकका शैक्षिक योग्यतामाथि बारम्बार उजुरी आइरहेको, प्रारम्भिक छानबिनका क्रममा केही शिक्षकबाट राजीनामा आउने लहर चलेको तथा विगतमा गरिएका छानबिनको विश्वसनीयतामा पनि थप उजुरी परेपछि आयोगले नयाँ कदम चालेको हो । आयोगका सहप्रवक्ता केशवप्रसाद घिमिरेले विद्यार्थीलाई शिक्षा दिने र समाजमा नैतिक र प्रतिष्ठावान मानिने शिक्षकले नै शैक्षिक प्रमाणपत्र ढाँटेर जागिर खाने तथा बढुवा प्रयोजनमा पनि नक्कली (कीर्ते) प्रमाणपत्र पेस गर्ने प्रवृत्तिलाई निरूत्साहन गर्न आवश्यक भएकाले सो निर्देशन दिइएको बताउनुभयो । उहाँका अनुसार सम्बन्धित जिल्ला शिक्षा कार्यालयले मातहतका शिक्षकका शैक्षिक प्रमाणपत्र सङ्कलन गरी आयोगलाई बुझाउन भनिएको । काठमाडौँ, भक्तपुर र ललितपुरका हकमा भने नेपालभित्रका शैक्षिक संस्थाबाट प्रदान गरिएका शैक्षिक प्रमाणपत्रलाई प्रमाणीकरण गरी अन्य शैक्षिक प्रमाणपत्रलाई थप छानबिनका लागि पठाउन निर्देश गरिएको छ । शिक्षा मन्त्रालय, शिक्षा विभाग वा शिक्षक किताबखाना जस्ता निकायमा पनि शिक्षकका शैक्षिक प्रमाणपत्रबारे यथार्थ विवरण नपाइने अवस्था अन्त्य गर्न पनि सो नयाँ निर्णय प्रभावकारी हुने ठानिएको छ । हाल एक लाख ६२ हजार शिक्षकको दरबन्दी रहेकामा स्थायीमा एक लाख सात हजार र अन्य राहत, अस्थायी र निजी स्रोतमा छन् । आयोगले गत वर्ष मात्रै ८० नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको थियो । सहप्रवक्ता घिमिरेले उजुरी आई छानबिन भइरहेका शिक्षकका हकमा राजीनामा दिएको अवस्थामा पनि कीर्ते प्रमाणपत्र फेला परेमा आयोगले छुट नदिने स्पष्ट गर्नुभयो । त्यसरी सामुदायिक विद्यालयबाट बाहिरिने शिक्षक निजी विद्यालयमा सेवा प्रवेश गरेमा कसले छानबिन गर्ने भन्ने पनि प्रश्न उठ्न थालेको छ । आयोगमा पर्ने उजुरीमध्ये सबभन्दा बढी शिक्षा क्षेत्र र त्यसमा पनि शैक्षिक योग्यता ढाँटेको सम्बन्धी उजुरी पर्ने गरेका छन् । अहिले पनि सोसम्बन्धी करिब एक हजार उजुरी परेका छन् । शिक्षामा हुँदै नभएका (झोले) विद्यालयसम्बन्धी उजुरी पनि पर्ने गरेका छन् । चालु आवमा मात्रै ५४ यस्ता मुद्दा दायर भएका छन् । शिक्षापछि वन, मालपोत, स्थानीय निकाय र स्वास्थ्य क्षेत्रका उजुरी पर्ने गरेको देखिएको छ । गत वर्ष आयोगमा सबै क्षेत्र गरी ११ हजार २९८ उजुरी परेकामा छ हजार ६७२ फछ्र्याेट भएका थिए ।