दुर्घटनामा निधन भएका काँग्रेसी सभाषद् खड्कालाई अन्तिम श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि काँग्रेस काईकर्तासम्म
उपचारका क्रममा आइतवार राति राजधानीको बाँसवारीस्थित न्यूरो अस्पतालमा निधन हुनुभएका सभासद् हरिबहादुर खड्काको पार्थिव शरीरमा नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलि दिइएको छ । नेपाली काँग्रेसको तर्फवाट बागलुङ क्षेत्र नं.१ बाट निर्वाचित सभासद् एवम् काँग्रेस बागलुङ जिल्ला कार्यसमितिका सचिव हरिबहादुर खड्कालाई श्रद्धाञ्जलि दिन सानेपामा बिहानैदेखि नेता कार्यकर्ताको घुइँचो लागेको थियो । स्वर्गीय सभासद् खड्कालाई अन्तिम श्रद्धाञ्जलि दिन काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजाल, ऊर्जा मन्त्री राधा ज्ञवाली, श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलगायत काँग्रेस केन्द्रीय सदस्यहरु, सभासद्हरु तथा सयौँ नेता कार्यकर्ता पुग्नुभएको थियो । बागलुङ, कालिका नगरपालिका–१ निवासी ५० वर्षीय स्व. खड्का मङ्सिर १७ गते बागलुङ पैंयूपाटामा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका उहाँको गएराति निधन भएको थियो । स्व खड्काका श्रीमती र दुई छोरा हुनुहुन्छ । काँग्रेसले एक विज्ञप्ति मार्फत स्व खडकाको निधनले काँग्रेस पार्टी तथा नेपालको सिङ्गो लोकतान्त्रिक आन्दोलनमै अपूरणीय क्षति पुगेको बताएको छ । “दुःखको यस घडीमा दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा काँग्रेस हार्दिक समवेदना प्रकट गर्दछ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।