सहमति नभए प्रक्रियाबाट संविधान ल्याइने –सञ्चारमन्त्री मीनेन्द्र रिजाल
सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले माघ ८ गतेभित्र सहमति भए सहमतिबाट नभए दुई तिहाइ बहुमतका आधारमा प्रक्रियाबाटै नयाँ संविधान जारी गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुर्खेतले आयोजना गरेको कार्यक्रम उहाँले संविधानलाई अन्तिम रुप दिने समयसम्म पनि सहमतिको प्रयास गरिने तर सहमति हुन नसके प्रक्रियाका आधारमा भए पनि संविधान जारी गरिने दृढता प्रकट गर्नुभयो । अझ पनि संविधानका केही विषयमा सहमति जुट्न नसकेको बताउँदै मन्त्री रिजालले भन्नुभयो – सहमति जुटाउन सरकार हदैसम्म लचिलो बनेको छ । यसैगरी, मन्त्री रिजालले नेपाली काँग्रेस र नेकपा (एमाले)को सहमतिको प्रयत्नलाई कमजोर नठान्न पनि आग्रह गर्नुभयो । नेका सुर्खेतले आयोजना गरेको कार्यक्रममा उहाँले संविधानसभा निर्वाचनको समयमा सबै दलले जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न तोकिएको समयमै संविधान जारी गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।