एमाले पदाधिकारी बैठक, राष्ट्रिय राजनीतिक चुनौती समाधान गर्न एमाले एकताबद्ध हुनुपर्ने विषयमा छलफल


cpn umlनेकपा (एमाले)को पदाधिकारी बैठकमा संविधान निर्माणका लागि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन सकारात्मक भएको ठहर गरेको छ । निर्धारित समयमै संविधान जारी गर्नका लागि सो समितिको प्रतिवेदन सकारात्मक र दलहरुबीच राष्ट्रिय सहमति कायम गर्ने वातावरणको सिर्जना गरेको विषयमा छलफल भएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । मङ्गलबार बसेको चारदलको बैठकमा सङ्घीयता र निर्वाचन प्रणालीका विषयमा दलहरुबीच भएको छलफल पनि सकारात्मक हिसाबले अघिबढेको र राष्ट्रिय राजनीतिक चुनौतीको समाधानका लागि पार्टी आन्तरिक रुपमा एकताबद्ध भएर जानुपर्ने विषयमा छलफल भएको समेत उहाँले जानकारी दिनुभयो । नेकपा (एमाले)को पदाधिकारी बैठक बसेलगत्तै केन्द्रीय कमिटी बैठक बस्यो । बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका आन्तरिक कमीकमजोरीलाई सुधार गर्दै लैजाने र निर्धारित मितिमै संविधान जारी गर्ने विषयमा पार्टीको ध्यान केन्द्रित भएको बताउनुभयो । बैठकमा पोलिट्ब्युरो र स्थायी कमिटी निर्वाचन र कार्य विभाजनलगायतका विषयमा छलफल गर्ने भनिए पनि आज त्यस विषयमा छलफल हुन सकेन । भोलि अपरान्ह् २ बजे बस्ने गरी आजको बैठक सकिएको छ । नेकपा (एमाले)का अध्यक्ष ओली र माधवकुमार नेपालबीच पार्टीभित्रको आन्तरिक जीवनलाई प्रभावकारी बनाएर पार्टीलाई एक ढिक्का बनाई अगाडि बढाउने विषयमा परामर्श भएको छ । पदाधिकारी बैठक बस्नुभन्दा अगाडि नै उहाँहरुबीच सहमति र समझदारीबाटै पार्टीको स्थायी र पोलिट्ब्युरो निर्वाचन गर्नुपर्नेलगायत विषयमा छलफल भएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?