बलात्कारीलाई ६ वर्ष जेल, १५ वर्षीय बालिकालाई एक लाख क्षतिपूर्ति


rapeपन्ध्र वर्षीया एक बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले छ वर्षको जेल सजाय सुनाएको छ । अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले दिनुभएको जानकारी अनुसार न्यायाधीश नागेन्द्रलाल कर्णको इजालासले मध्यपुर थिमी नगरपालिका–११ बस्ने वर्ष २२ का विशाल खड्गीलाई छ वर्ष जेल सजाय र रु एक लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो । काभ्रेपलाञ्चोक कलती भूमिडाँडा गाविस घर भई मध्यपुरथिमी नगरपालिका–१५ मा डेरा गरी बस्ने ती बालिकालाई २०७० साल जेठ २२ गतेदेखि विभिन्न प्रलोभनमा पारेर पटकपटक बलात्कार गरेको र बालिकाको गर्भ रहेको सार्वजनिक भएपछि परिवारको उजुरीको आधारमा प्रहरीले खड्गीलाई पक्राउ गरेको थियो । गर्भमा रहेको बच्चा जन्मिसकेकाले खड्गीको सम्पत्तिबाट असुल गर्ने गरी तत्कालका लागि सरकारले एकलाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरिएको छ । बालिकाको झूटो उमेरको विवरण दिने कलती भूमिडाँडा गाविसका सचिव रामेश्वर न्यौपानेमाथि आवश्यक कारबाही गर्न अदालतले निर्देशन दिएको छ । तस्वीर सांकेतिक मात्र

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?