बृद्धाको रकम क्रेटिट कार्डबाट चोरेको आरोपमा एक नेपालीलाई १८ महिने जेल सजाय
भारतमा रही विभिन्न ईन्टरनेट कल मार्फत अष्ट्रेलियाका नागरिकहरुलाई ठगी गर्ने गिरोहको एक सदस्यका रुपमा अष्ट्रेलियन मिडियामार्फत चित्रण गरिएका प्रविन मैनाली १८ महिनाका लागि जेल चलान भएका छन् । २० वर्षका उनी आईटी पढ्नका लागि यहाँ आएको अष्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् । गत मार्चमा निजले क्यासल हिलमा रहेको एक रिटायर्मेन्ट भिलेजमा एक बृद्धको क्रेडिट कार्ड मर्मत गरिदिने भन्दै त्यसबाट रकम आफ्नो एकाउन्टमा ट्रान्सफर गरेका थिए । चार जना पीडितको २१ पटक गरी १८ हजार ५ सय अष्ट्रेलियन डलर निजले आफ्नो खातामा ट्रान्सफर गरेका थिए । अष्ट्रेलियामा १२ महिनाभन्दा बढीको जेल सजाय हुने अपराधमा सजाय पाउने विदेशीहरुलाई जेल सजायपछि देश निकाला गर्ने प्रावधान छ ।
प्रहरीले गरेको अनुसन्धानमा निजले भारतमा रहेका व्यक्तिहरुको लागि यस्तो काम गर्नेगरेको र केही रकम आफु राखी बाँकी उतै पठाउने गरेको समेत खुलेको हो । मैनालीका विषयमा थप जानकारी आउन नसके पनि यहाँको सञ्चारमाध्यमले उनको विषयमा भिडियो रिपोर्ट प्रस्तुत गरेका छन् जहाँ उनले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको देख्न सकिन्छ । Watch here >>
नेपाली विद्यार्थी समस्यामा
पछिल्लो समय भारतीय अपराधीहरुले सोझा नेपाली विद्यार्थीलाई तत्कालै फाईदा हुने र ठूलो रकम पाइने आश्वसन दिएर यस्तो काम गराउने गरेको घटना सार्वजनिक हुने क्रम बढेको छ । केही समय अघि दुईजना नेपाली विद्यार्थी पनि यस्तै घटनामा पक्राउ परिसकेका छन् । यो अवस्था निकै चुनौतीपूर्ण रहेको र अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुलाई यस्ता क्रियाकलापमा संलग्न नहुन जानकारीमूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता देखिएको छ । केही समूदायका सदस्यहरुले भने २० वर्ष उमेरमा अष्ट्रेलियामा आफैं पढ्न आउनसक्ने व्यक्तिले कसैको बहकाउमा मात्रै यस्तो गरेको मान्न नसकिने तर्क गरेका छन् । ईजी मनीका लागि यस्तो कार्य गर्दा पक्राउ परेका छन् । अपराधलाई ढाकछोप होइन कडा कारवाही गरेमा मात्र यो नियन्त्रणमा आउनसक्ने उनीहरुको तर्क छ ।