अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा खोल्दै, विदेशमा अड्किएकाहरुलाई सहुलियत घोषणा !
अष्ट्रेलियन सरकारले यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरुको भिसा आवेदनहरुमा निर्णय गर्न थाल्ने भएको छ । यसअघि कोरोनाका कारण रोकिएको विद्यार्थी भिसाका निवेदनलाई खुल्ला गर्ने र कोरोना भाईरसको समाप्तिसँगै अष्ट्रेलिया आउने तयारी अवस्थामा बस्न विद्यार्थीहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
कार्यवाहक अध्यागमन मन्त्री एलान टुजले अष्ट्रेलियामा अध्ययन गरिरहेका तर हाल विदेशमा अड्किएका विद्यार्थीहरुलाई विश्वस्त बनाउन यी कदमहरु चालिएको प्रष्ट पारेका छन् । उनले आवश्इक प्रक्रिया पूरा गर्ने विद्यार्थीहरुलाई हातमा भिसा लिएर ढुक्कसँग बस्ने वातावरण मिलोस् भनेर पनि यो प्रयास गरिएको बताए । साथै उनले यसले अष्ट्रेलियाको चौथो ठूलो निर्यात मानिएको शिक्षा क्षेत्रका लगानीकर्ताहरुलाई समेत राहत दिने अपेक्षा व्यक्त गरे ।
अष्ट्रेलियन सरकारले ल्याएका ५ नयाँ व्यवस्था
१) विद्यार्थीको नयाँ भिसा आवेदनमाथि निर्णय गर्न पुनःसुरु गरिनेछ ।
२) अष्ट्रेलियाबाहिर रही कोरोनाका कारण भिसा सकिएकाहरुले आफ्नो पढाई पूरा गर्न पुनः भिसा आवेदन दिँदा कुनै शुल्क लाग्ने छैन ।
३) कोरोनाका कारण अष्ट्रेलिया आउन नसकी अष्ट्रेलिया बाहिर रहि अनलाईन पढिरहेका विद्यार्थीहरुको पढाईको अवधि पढाईपछिको भिसाका लागि गणना गरिनेछ ।
४) कोरोनाका कारण अष्ट्रेलियाबाहिर रही पढाईपछिको कामदार भिसा आवेदन दिन छुटेकाहरुले यस्तो आवेदन देशबाहिरबाट नै पनि दिन पाउनेछन् ।
५) कोरोनाका कारण अंग्रेजी भाषाको जाँच दिनबाट बञ्चित भएका कारणले यसको नतिजा उपलब्ध गराउन नसकेका विद्यार्थीलाई थप समय प्रदान गरिनेछ ।
मन्त्री टजले यतिबेला अष्ट्रेलियन सरकारको पहिलो प्राथमिकता आफ्ना नागरिकहरुको स्वास्थ्य भएपनि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई असुविधा नहोस् भन्नेतर्फ पनि आफुहरुले सोचिरहेको बताए ।
मन्त्री टजले विद्यार्थीहरुका लागि नयाँ सुविधाको घोषणा गरेपनि कहिलेदेखि अन्तर्राष्ट्रिय विद्यार्थीले अष्ट्रेलिया आउन पाउनेछन् भन्ने कुनै कुरा खुलेको छैन । एक पाईलट परियोजना अन्तर्गत विभिन्न युनिभर्सिटीहरुमा पढ्न आउन लागेका विद्यार्थीहरुलाई ल्याउने योजना बनाइएको र यसका लागि आवेदन समेत लिइएको छ तर अन्य कुरा भने खुलिसकेको छैन । विद्यार्थीका रुपमा अष्ट्रेलियामा पढ्न आउने भिसा लागेर नेपालमा बसेका विद्यार्थीहरुको संख्या ११ सय भन्दा बढी छ ।