रातो मच्छिन्द्रनाथको जात्राको तयारी सुरु, यस पटक बाह्र वर्षे मेला पनि


ratoवर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारी सुरु भएको छ । गुठी संस्थान शाखा कार्यालय ललितपुरकाअनुसार आगामी वर्ष रातो मच्छिन्द्रनाथको १२ वर्षमा लाग्ने मेला परेको र जात्राको तयारीका लागि धेरै काम गर्नुपर्ने भएकाले अहिलेबाट नै जात्राका लागि तयारी गरिएको हो । जात्राको तयारीस्वरुप पहिलो चरणको काम सुरु भएको छ । तयारी कै लागि  रथको पाङ्ग्रा बनाउनका लागि मकवानपुर जान लागिएको संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठ काट्नका लागि नेवार समुदायको ‘बाराहीे जाति’का मानिसलाई लगिने र चारवटा पाङ्ग्रा बनाउनका लागि सानदान रुखबाट बनाइन्छ । रथको पाङ्ग्रा बनाउन प्रत्येक रुख काट्नका लागि एक रुख बराबर भाले भेडाबाख्रा भोग दिने प्रचलन रहेकाले भोग पनि दिइनेछ । यो जात्रा हरेक वर्ष हुने गरेको भए पनि हरेक १२ वर्षमा यस जात्रालाई विशेष महत्वको साथ हेरिने गरिएको छ । बाह्र वर्षमा लाग्ने मेला भएकाले यस वर्षका लागि रथ सबै नयाँ सामग्रीबाट निर्माण गरिनुपर्ने र ललितपुरको बुङ्मतिमा नै रथ निर्माण गर्ने र सोही स्थानबाट नै रथ तान्ने प्रचलन रहिआएको प्रमुख अधिकारीले बताउनुभयो । अन्य समयमा पुल्चोकमा रथ निर्माण गरिने र त्यहीँबाट नै रथ तानिने चलन रहेको थियो । आगामी वर्षका लागि वैशाखको पहिलो साताबाट जात्रा सुरु हुनेछ । यस वर्ष रातो मच्छिन्द्रनाथको जात्रा वैशाख १७ गते रथारोहण गरी सुरु भएको थियो । विगतका वर्षमा जात्राका लागि पुरानै सामग्रीले काम चलाइन्थ्यो भने यसपटक भने १२ वर्षमा विशेष गरिने भएकाले निर्माणका लागि सबै नयाँ सामान जुटाउनुपर्ने भएकाले अहिलेबाटै तयारी गरिएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?