युवतीमाथि एसिड प्रहार गर्ने २ जना पक्राउ !
काठमाडौँको बाफलमा युवतीमाथि एसिड आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति ११ बजे पक्राउ गरेको हो ।
ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ करिव ८ बजे एसिड प्रहार भएको थियो । नजिकैको डेरीमा दही किन्न जाने क्रममा उनीमाथि एसिड फालिएको थियो । एसिडले युवतीको अनुहार हातमा जलन भएको छ । युवतीको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
मुलुकी अपराध संहितामा यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।
शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।