पूर्वडीआईजी रञ्जनको फैसलाविरुद्ध सुनुवाइ आज !


सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ । जिल्ला र तत्कालीन पुनरावेदन अदालतले तत्कालीन डीआईजी कोइराला पत्नी हत्यामा संलग्न रहेको ठहर गरी सर्वस्वसहित जन्मकैद सजाय तोकेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले भने आठ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएपछि कोइराला बिहीबार कारावासमुक्त भएका थिए ।

संयुक्त इजलासको फैसलाविरुद्ध सरकारले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतका तीन जना न्यायाधीशले सुनुवाइ गर्नुपर्नेछ । सर्वोच्च अदालत नियमावलीको नियम २७ अनुरूप पुनरावलोकन हुने या नहुने भन्ने विषयमा पहिले निर्णय हुनेछ । उक्त सुनुवाइमा प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीबाहेक अन्य तीन न्यायाधीश संलग्न हुनेछन् ।

‘पुनरावलोकन निवेदनमा आइतबारका लागि सुनुवाइ तय भएको छ । पुनरावलोकनको निस्सा पाउने÷नपाउने विषयमा प्रारम्भिक रूपमा निर्णय हुन्छ’, सर्वोच्च स्रोतले भन्यो, ‘त्यसपछि सुनुवाइ हुने भए तीन न्यायाधीश संलग्न पूर्ण इजलासमा पेसी तोकिन्छ । फैसला उचित र जायज ठहरियो भने सुनुवाइको च्याप्टर यहीँनेर समाप्त हुन्छ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?