दाहसंस्कार गर्न चित्तामा राखेको शव प्रहरी नियन्त्रणमा !
काठमाडौँ । दाहसंस्कार गर्न चितामा राखिसकेको एक वृद्धको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बटेश्वर गाउँपालिकाको–२ का ८० वर्षीय रामविलास ठाकुरको शव बडरी खोलामा दाहसंस्कार गर्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीयले हत्या भएको सूचना दिएपछि प्रहरीले शनिबार दिउँसो ठाकुरको शव नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए । कुटपिट गरी ठाकुरको हत्या गरेको र अपराध लुकाउन हतार हतार शव जलाउन लागेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।
तर, मृतकका परिवारले शुक्रबार राति लडेर गम्भीर घाइते भएपछि उपचारका लागि स्थानीय क्लिनिकमा लगेको र उपचारकै क्रममा मृत्यु भएको दावी गरेका छन् । नियन्त्रणमा लिएको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याइएको प्रहरी निरीक्षक नायकले बताए ।