अर्थमन्त्री तथा सचिव विरुद्ध अख्तियारमा उजूरी !


काठमाडौं । इनफ इज इनफका अभियन्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थसचिव शिशिरकुमार ढुंगानाविरुद्ध आइतवार अख्तियारमा उजूरी दर्ता गरेका छन् । कोभिड १९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरिए पनि त्यसको अनुगमन नगरि सो कार्यले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले निजहरू माथि अनुसन्धान गरी कारवाही गर्न अभियानकर्मीहरुले उजूरीमा आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण खरिद गर्दा ओम्नी समूहलाई दिएको ठेक्कामा भ्रष्टाचार भएकाले उक्त कार्यमा संलग्न सबैमाथि अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।

यसअघि सोही समूहले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र रक्षामन्त्री इश्वरपोखरेलमाथि अनुसन्धान माग गर्दै उजुरी दायर गरेको थियो । सोभन्दा अघि पनि साझा पार्टीबाट चुनिएका बागमती प्रदेशका सांसद रमेश पौडेलले पनि छानबिन माग गर्दै उजुरी दायर गरेका थिए ।

इनफ इज इनफका अभियन्ताहरूसँग सरकारले १२ बुँदे सम्झौता गरेर पनि माग पूरा नगरेकोमा असहमति स्वरुप अभियन्ता ई.समाइरा श्रेष्ठ र करण गुरुङले वसन्तपुर दरबार क्षेत्रमा २०७७ श्रावण ३ गतेबाट सुरु गरेको सत्याग्रहको आज नवौं दिन भैसकेको अभियन्ता पुकार बमले जनाएका छन् । बम यसअघी ईः सँगै १२ दिनसम्म अनशनमा बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?