अचानक बढेको चिसो र झरीले गर्दा हिमाली जिल्लाहरुमा हिमपात, मुस्तांगमा जनजीवन कष्टकर
हिमपातका कारण यस जिल्लाको जनजीवन कष्टकर बनेको छ । मुस्ताङको तापक्रम अहिले ¬–२ डिग्री सेल्सियसमा झरेको छ । सर्वसाधारण जनता बाहिर निस्कन सकिरहेका छैनन् । सरकारी कार्यालय सुनसान भएका छन् । चिसोले सदरमुकाम जोमसोमका होटल र पसल एकदमै कम खुलेको स्थानीय कुलबहादुर थकालीले जानकारी दिनुभयो । बाहिर निस्केकाहरू चोकमा आगो बालेर बसिरहेका छन् । चिसोले मुस्ताङमा कुनै पनि उडान हुन सकिरहेको छैन । “शनिबार रातिदेखि हिउँ पर्न त रोकिएको छ, तर चिसो झनै बढेको छ, थकालीले भन्नुभयो – “हामीलाई बाहिर निस्कन समस्या परिरहेको छ ।” पानीसँगै शनिबार दिउँसो २ बजेदेखि हिमाली जिल्ला मुस्ताङका सबै भूभागमा हिमपात भएको थियो । उपल्लो मुस्ताङको चराङ, सुर्खाङ, घमी, लोमान्थाङ, छुसाङ र छोण्हुपलगायतका गाविसमा भने अझै हिउँ पग्लन सकेको छैन । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, अन्य क्षेत्रमा हिउँ पग्लिन सुरु भए पनि उपल्लो क्षेत्रमा हिमपात जारी छ । सदरमुकाम जोमसोम, कागबेनी, मार्फालगायत तल्लो क्षेत्रमा हिउँ पग्लन सुरु भएको प्रहरी सहायक निरीक्षक खिम जिसीले जानकारी दिनुभयो । हिमपातका कारण जोमसोम–बेनी सडकमा सवारी साधन सञ्चालन आउन सकेका छैनन् ।