वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित १ सय ३३ जनामा कोरोना संक्रमण !
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा २४ महिलासहित ५ देखि ७४ वर्ष उमेर समूहका १ सय ३३ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले फ्रन्टलाइनमा काम गर्दागर्दै कोरोना संक्रमित भएको बताए ।
रिपोर्टको ढिलाईले पनि समुदायमा कोरोना फैलिएको हो । महानगरपालिका कार्यालयका अरु १० जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कारागारका जेलर श्रवण पोखरेलले साउन १८ गते दिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बताए ।