तत्काल देशभर लकडाउन हुँदैन : प्रवक्ता खतिवडा !


सरकारले तत्काल देशभर लकडाउन नहुने बताएको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पारेका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका हुन् ।

उनले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्लास्तरबाट सेवाहरु रोकिने अथवा लकडाउन हुन सक्ने बताउँदै देशभर एकैसाथ लकडाउन हुने स्थिति नरहेको स्पस्ट पारे । खतिवडाले त्रसित भएर पूर्ण रुपमा यसअघि जस्तै लकडाउन हुन्छ भन्‍ने मनस्थिति कसैले पनि नबनाउन आग्रह गरेका छन् ।

उनले अहिले पनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताएका छन् । काठमाडौं उपत्यका भित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखिम भएको हुनाले केही कदमहरू चाल्न सुरु गरिएको उनले बताए । जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?