राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणको तयारीमा,खेलाडीको पिसिआर परीक्षण !
नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण सोमबारदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ देखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पिसिआर परीक्षण सोमबार र मंगलबार गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए ।
विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ । खेलाडीसँगै प्रशिक्षक, पदाधिकारी र एन्फा होस्टलका कर्मचारीको पनि कोरोना परीक्षण गरिने राईले बताए । परीक्षणको नतिजा आएपछि प्रशिक्षण अगाडि बढ्नेछ । सरकारले आगामी भदौ १ देखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो ।
फिफा र विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ । विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ (एएफसी)ले फिफालाई प्रस्ताव गरेको छ ।
स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो ।