विद्यालयमा तालिवानको आक्रमण, क्रुर आतंककारी हमलामा पाकिस्तानमा १ सय ३० जनाको मृत्यु, अधिकांश बालबालिका
पाकिस्तानमा सेनाद्वारा सञ्चालित एक विद्यालयमा तालिवान विद्रोहीले गरेको आक्रमणमा १३० व्यक्तिको मृत्यु भएका छ र तिनीहरूमा प्रायः बालबालिका परेका छन् । यसलाई हालका वर्षमा यस मुलुकमा भएको सबैभन्दा रक्तपातपूर्ण आक्रमणको रूपमा लिइएको छ । प्रत्यक्षदर्शीले उत्तरपश्चिमी पेसावर नगरमा सैनिक सार्वजनिक विद्यालयमा एक ठूलो विस्फोट भएको र बन्दुकधारीले कक्षाकोठामा गएर बालबालिकालाई गोली हानेको बताए । आक्रमणपछि बालबालिका रगताम्य शरीर अस्पतालमा आएको र भयभित आमाबाबुहरू नगरको लेडी रिडिङ अस्पतालमा जम्मा भएको बताइएको छ । तीमध्ये चालीस वर्षीया इर्सदा बिबीकी १२ वर्षीय छोरोको उक्त घटनामा मृत्युभएको देखिएको छ । तेहरिक–ए–तालिवान पाकिस्तान (टीटीपी) ले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । यस समूहले यस क्षेत्रमा सेनाको प्रमुख आक्रमणको बदलामा यो आक्रमण गरेको दाबी गरेको छ । यस समूहले आफ्ना लडाकूलाई बढी उमेरका विद्यार्थीको हत्या गर्न आदेश दिएको जानकारी दिएको छ । आक्रमण बिहान स्थानीय समय अनुसार १०ः३० बजे आरम्भ भएको थियो । उक्त समयमा पाँच विद्रोही सैनिक पोसाकमा विद्यालयमा प्रवेश गरेका थिए । सुरक्षा अधिकारीले आक्रमण आरम्भ हुँदा विद्यालयमा सयौँ विद्यार्थी तथा कर्मचारी रहेको जानकारी दिएको छ । सेनाले तीमध्ये प्रायःलाई विद्यालयबाट अन्यत्र लगिएको जानकारी दिएको छ । आक्रमणको पाँच घण्टापछि सेनाका प्रवक्ता जनरल असिम बाज्वाले आक्रमणकारीलाई विद्यालयको एक भवनवाहेक अन्यत्रबाट हटाइएको जानकारी दिनुभयो । उहाँले पाँच लडाकू मारिएको बताउनुभयो । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले उक्त आक्रमण जङ्गलीहरूले आरम्भ गरेको राष्ट्रिय विपत्ति भएको बताउनुभयो । उहाँले यी बालबालिका आफ्ना बालबालिका भएको, यो क्षति आफ्नो क्षति भएको र यो राष्ट्रिय क्षति भएको बताउनुभयो । प्रान्तीय सूचनामन्त्री मुस्ताक घानीले मर्नेको सङ्ख्या १३० पुगेको बताउनुभयो । उहाँले यत्तिकै सङ्ख्यामा मानिस घाइते भएको बताउनुभयो । यो कुरालाई अर्का एक पुष्टि गरे । प्रान्तीय मुख्यमन्त्री पर्वेज खत्तकले आक्रमणकारीले सरकारी अर्धसैनिक सीमासुरक्षा बलको पोसाक लगाएको बताउनुभयो । विद्यालयका भौतिकशास्त्रको प्रयोगशालाका सहयोगी मुदासर अब्बासले आक्रमणको समयमा विद्यार्थीहरू एक उत्सव मनाइरहेको बताए । उनले छ वा सात व्यक्ति कक्षकोठाहरूमा गई बालबालिकामाथि गोली प्रहार गरेको आफूले देखेको बताए । एक विद्यार्थीले गोली चल्न बन्द भएको समयमा सेना आफूहरूलाई उद्धार गर्न आएको बताए । उसले आफू कक्षाबाट बाहिर आउँदा आफ्ना साथीहरूको शरीर बाटोमा लडिरहेको, उनीहरूको शरीबाट रगत बगिरहेको, केहीको शरीरमा तीनदेखि चारवटा गोली लागेको देखेको बताए । उसले ती पुरुषहरू कोठामा एकपछि अर्को गरी प्रवेश गरी कर्मचारी र विद्यार्थीमाथि जथाभावी गोली प्रहार गर्न थालेको बताए । पेसावरको वारसाक मार्गमा रहेको उक्त विद्यालय सैनिक सार्वजनिक विद्यालय तथा कलेज प्रणालीको भाग हो । यस प्रणालीमा १४६ विद्यालय मुलुकभर सञ्चालन भएका छन् । यहाँ सैनिक तथा सामान्य जनताका छोराछोरी अध्ययन गर्छन् । यी विद्यार्थीको उमेर १० देखि १८ वर्ष रहेको छ । यस विद्यालयमा सैनिक अधिकृत तथा तल्लो तहका सैनिकका छोराछोरी अध्ययन गर्छन् र सेनाका पत्नीहरूले त्यहाँ अध्यापन गर्छन् । टीटीपीका प्रवक्ता मुहम्मद खोरासानीले लडाकूको बलियो नियन्त्रण रहेको उत्तरी वजिरिस्तानमा सेनाको आक्रमणमा मारिएका तालिवान लडाकू र उनीहरूको परिवारको बदलामा यो आक्रमण गरिएको बताए । निजले आफ्ना प्यारा व्यक्ति मारिँदा कत्तिको डरलाग्दो हुन्छ भन्ने कुरा उनीहरूलाई अनुभव गराउन आफूहरूले यो काम गरेको खोरासानीले बताए । निजले आफ्ना परिवारले शोक भोगिरहेको जस्तै उनीहरूका परिवारले पनि शोक भोगून् भनी आफूहरूले यो पाइला लिएको बताए । सेनाले आफ्नो अपिभयान टीटीपीका विद्रोहीलाई भङ्ग गर्न प्रमुख रूपमा सफल भएको बताएको छ । पाकिस्तानमा सन् २००७ देखि विद्रोह आरम्भ भएको छ र त्यसमा हजारौँ व्यक्तिको मृत्युभएको छ । जुन महिनामा जर्ब–ए–अर्ब आरम्भ भएपछि एक हजार ६०० भन्दा बढी लडाकूको मृत्युभएको छ । अवकाशप्राप्त जनरल तथा सुरक्षा विश्लेषक तलात मसुदले सेनाको दृढता कमजोर बनाउन उक्त आक्रमण भएको बताउनुभयो । उहाँले यो काम रणनीतिक र कार्यनीतिक दुबै भएको बताउनुभयो । उहाँले सेना तयार भएकाले र लडाकूको क्षमता पनि नभएकाले सेनाको मुटुमा आक्रमण नसकिने थाहा भएर तालिवानले नरम लक्ष्यमा आक्रमण गरेको बताउनुभयो । उहाँले यस्ता आक्रमणको मनावैज्ञानिक असर भएको बताउनुभयो । यो क्षेत्र अफगानिस्तानको सीमामा रहेको र अर्धस्वायत्त आदिवासी क्षेत्र हो र यहाँ अल–काउदा, टीटीपी तथा उज्वेक तथा उइघुरजस्ता विदेशी लडाकू वर्षौँसम्म लुकेर बसेका छन् ।
भारतीय प्रधानमन्त्रीद्वारा भत्र्सना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तालिवान लडाकूले छिमेकी मुलुक पाकिस्तानी एक विद्यालयमा गरेको कायरतापूर्वक आक्रमणको भत्र्सना गर्नुभएको छ । उक्त आक्रमणमा कम्तीमा १३० व्यक्तिको मृत्युभएको छ भने त्यसमा प्रायः बालबालिका परेका छन् । प्रधानमन्त्री मोदीले पाकिस्तानको उत्तरपश्चिमी नगर पेसावरमा भएको आक्रमण संवेदनाहीन सोच्नैनसकिने क्रुरता भएको र भारतले पाकिस्तानको उक्त पीडालाई साझेदारी गरेको बताउनुभयो । भारतीय गहमन्त्री राजनाथ सिंहले पाकिस्तानमा हालैका वर्षमा भएका आक्रमणमध्ये उक्त आक्रमण सबैभन्दा रक्तपातपूर्ण भएको बताउँदे त्यसले आतङ्कवादको वास्तविक अनुहार प्रकट गरेको बताउनुभयो । उहाँले पेसावरको विद्यालयमा आतङ्कवादी आक्रमणको आफूले कडा शब्दमा भत्र्सना गर्ने बताउनुभयो । तेहरिक–ए–तालिवान पाकिस्तानले उक्त आक्रमणको जिम्मेवारी लिएको छ ।