गोंगबु हत्या आरोपीको बयान : घुँडाले संवेदनशील अंगमा हिर्काएर हत्या गरेँ
रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा कल्पना शाही नै मुख्य योजनाकार भएको निष्कर्ष प्रहरीले निकालेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको छ । बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी छिन् ।
आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको पनि दावी गरेकी छिन् ।
‘मलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीको भनाइ छ,’ हत्या अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’ कृष्णबहादुरलाई दहीमा औषधि घोलेर स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काएर ढालेको र त्यसपछि कृष्णको हत्या गरेको प्रहरीलाई बयान दिएकी छन् । मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।
हत्या गरेर आइतबार आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयानमा भनेकी छिन् । महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् । प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । हत्या गरिएका पुरुष विवाहिता भएको र हाल उनी काठमाडौंमा एक्लै बस्दै आएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।