“नेपाल प्रोजेक्ट” को नाममा मेलबर्नका अष्ट्रेलियनले ठगे करिब चार करोड !


नेपाल प्रोजेक्टको नाममा मेलबर्नका अष्ट्रेलियन नागरिकले करिब चार करोड नेपाली रुपैयाँ ठगी गरेका छन् । पूर्व सरकारी कर्मचारीले नेपालीको नाममा करोडौं रकम ठगी गरेको खुलासा भएको छ । मेलबर्नको फ्रयांकस्टन नगर परिषदका पूर्व प्रबन्धकले ४ लाख ६० हजार डलरभन्दा बढी (झण्डै ४ करोड नेपाली रुपैयाँ) सरकारी रकम हिनामिना गरेका थिए । उनले त्यो रकमको अधिकांश भाग नेपालको दुर्गम क्षेत्रका समुदाय र साना जलविद्युत परियोजनाको लागि सहयोग गर्ने भनेर आफ्नी गर्लफ्रेण्डसँग मिलेर ठगी गर्न योजना बनाइएको त्यहाँको अदालतले जनाएको छ ।

सिड्नी मर्निङ हेराल्डका अनुसार ४५ वर्षका जेम्स विलियमसन नगर परिषदका पूर्व संरचना प्रबन्धक थिए । उनले सेप्टेम्बर २०१६ देखि अप्रिल २०१७ को अवधिमा ४ लाह ६० हजार ८७० डलर ठगी गेको अभियोगमा गत महिना दोषी ठहर भएका थिए । वकिल ह्युगो मुडीले मंगलबार भिक्टोरिया काउन्टी अदालतमा बताए अनुसार विलियमसनले कूल रकममध्ये ३ लाख ४६ हजार ५५४ डलर आफूसँग राखेका थिए । यसको अधिकांश हिस्सा ‘नेपाल प्रोजेक्ट’ नाम दिएर परोपकारी काम गर्ने भन्दै स्थापना गरिएको एक संस्थामा गएको जनाएको छ ।

करिब २ लाख डलर संस्था स्थापनाका लागि खर्च गरिएको थियो । यसका लागि दाताहरुसँग अनुदान माग्न विज्ञापन गर्न, कन्सल्टेन्टहरुलाई पारिश्रमिक दिन, कार्यालयका सामान किन्न र नेपाल जाँदा नेपालीलाई बाँड्नको लागि भन्दै पालहरु किन्न खर्च भएको थियो । विलियमसनले ५६ हजार डलर आफ्नो कार्यालयबाट आफूले पाउने पारिश्रमिक बढेको देखाउन प्रयोग गरेका थिए । ताकि उनले आफ्नो वास्तविक कमाइभन्दा बढी कर्मा देखाएर गलफ्रेण्डलाई प्रभावित पार्न सकुन् ।

उनले ९१ हजार डलर आफ्नी गर्लफ्रेण्डले ‘नेपाल प्रोजेक्ट’मा खर्च गरेको रकम फिर्ता दिनको लागि प्रयोग गरेका थिए । उनले करिब २० हजार डलर आफ्नी गर्लफ्रेण्डको घर मर्मत गर्न तथा घुम्न जाँदाको खर्च तिर्न प्रयोग गरेका थिए । उनले ७० हजार डलर डेबिट र क्रेडिट कार्डको बिल तिर्न प्रयोग गरेका थिए र २० हजार डलर एउटा असफल व्यवसायमा लगानी गरेर डुबाएका थिए । वकिल मुडीका अनुसार विलियमसनले आफ्नी गर्लफ्रेण्डलाइ प्रभावित पार्ने र आफू धनी बन्ने २ मुख्य नियत राखेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?