प्रधानमन्त्री कोइराला– चीनियाँ अधिकारी याङबीच भेट, समयमै नेपालले संविधान पाउने विश्वास
प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनुभएका चाइना इन्स्टिच्यूट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका उपसभापति याङ मिङजीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभएको छ । भेट नेपाल चीनबीचको आपसी सम्बन्ध, द्वीपक्षीय सहयोग र नेपालको संविधान निर्माण प्रक्रिया लगायतका विषयमा केन्द्रित भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले विपी कोइरालाको पालामा नेपाल¬¬–चीनको सम्बन्ध अत्यन्तै सुमधुर रहेको उल्लेख गर्दै त्यसबेला दुई देशको सीमा निर्धारणका विषय सहमतिमा टुङ्गिएको पनि बताउनुभयो । प्रधानमन्त्री कोइरालाले चीनले नेपालको पूर्वाधार विकास र सामाजिक पूर्वाधार निर्माणमा पनि उत्तिकै सहयोग गर्दै आएकोमा त्यसको सराहना गर्दै चीनकै आर्थिक, प्राविधिक सहयोगमा नेपालका सडकमार्ग, हवाई मैदान, अस्पताल निर्माण भएको पनि उल्लेख गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल अहिले छ दशकभन्दा लामो ंसङ्घर्षबाट प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशितासहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी शान्ति र राजनीतिक स्थायित्वको बातावरणमा आर्थिक समृद्धि र विकासको मार्गमा जान तत्पर रहेको बताउनुभयो । भेटमा उपसभापति याङले विकासका लागि शान्ति र स्थायित्व आवश्यक भएको बताउँदै प्रधानमन्त्री कोइरालाको नेतृत्वमा रहेकोे सरकारको सहयोगमा नै नेपालले नयाँ संविधान पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी बर्ष नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६० औँ वर्ष मनाउने सम्बन्धमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, र नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाको उपस्थिति थियो ।