आन्दोलन खण्डित पार्ने षड्यन्त्र बुझ्न क्रान्तिकारी कम्युनिष्टहरुलाई प्रचण्डको आग्रह, स्वार्थ त्यागेर एकता आजको आवश्यकता
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई विभिन्न टुक्रामा विभक्त पारेर आन्दोलनलाई खण्डित पार्ने षड्यन्त्र जारी रहेको बताउनुभएको छ । एक सय एक्काइसौँ माओ जयन्तीको अवसरमा एमाओवादी केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले आ–आफ्ना आवेग र सीमित राजनीतिक स्वार्थलाई त्यागेर कम्युनिस्ट पार्टीबीच एकताको आवश्यकता रहेको बताउनुभयो । परिवर्तनको एजेण्डालाई दह्रोरूपमा उठाउन र स्थापित गर्न सफल कम्युनिस्ट पार्टी आन्तरिक र बाह्य कारणले विभिन्न टुक्रामा विभक्त भएको दृष्टान्त पेस गर्दै उहाँले एमाओवादीको जारी केन्द्रीय समितिको बैठकले पार्टी एकताको विषयमा ठोस प्रस्ताव ल्याउने जानकारी गराउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “विभिन्न टुक्रामा विभक्त भएर छुट्टाछुट्टै बस्नुको कुनै अर्थ छैन, म मोहन वैद्य र नेत्रविक्रम चन्दले नेतृत्व गरेको माओवादीलगायत अन्य माओवादी घटकलाई एकतामा आउन आग्रह गर्दछु ।’’ पार्टी एकताका लागि त्याग गर्न आफू पनि तयार रहेको स्पष्ट पार्दै उहाँले सीमित आग्रह र पूर्वाग्रहबाट बाहिर निस्केर, राष्ट्रिय आवश्यकता र जनताको चाहनाअनुसार एकीकृत हुन सबै कम्युनिस्ट घटकलाई अनुरोध गर्नुभयो । कार्यक्रममा चिनियाँ नेता माओको राजनीतिक जीवनका विविध आयाम र नेपालको माओवादी आन्दोलनको आरोह–अवरोहका बारेमा चर्चा गरिएको थियो ।