पृथ्वी जयन्ती नागरिक मूल समारोह समिति गठन
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ औँ जन्मोत्सव मनाउन साहित्यकार मोदनाथ प्रश्रितको अध्यक्षतामा १०१ सदस्यीय पृथ्वी जयन्ती नागरिक मूल समारोह समिति गठन गरिएको छ ।समितिले देशका विभिन्न स्थानमा पृथ्वी जयन्ती मनाउन विभिन्न कार्यक्रमको आयोजना गरी यही पुस २७ गते काठमाडौँमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा इतिहासविद् डा रमेश ढुङ्गेलले आधुनिक नेपाल « निर्माणमा शाहले गरेको योगदानलाई स्मरण गर्न नसक्नेले नेपाली हुनुको अर्थ नराख्ने उल्लेख गर्दै विविधतामा एकता कायम गर्न पृथ्वी जयन्तीको ठूलो महत्व रहेको बताउनुभयो । पूर्वमन्त्री रामकुमार श्रेष्ठले शाहको योगदानलाई कसैसँग पनि मूल्याङ्कन गर्न नमिल्ने भएकाले पृथ्वी जयन्तीलाई औपचारिकरुपमा मनाउनु भनेको हामीलाई नेपाली भएर गौरव गर्ने अवसर हो भन्नुभयो । प्राज्ञ डा दिनेशराज पन्तले शाहको राजनीतिक, सांस्कृतिक, प्रशासनिक जागरणलाई नयाँ पुस्तामा बुझाउन नसकेमा नेपालीको अस्तित्व सङ्कटमा पर्ने विचार व्यक्त गर्नुभयो ।