बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गर्ने डा. आचार्यलाई पुरस्कार, बौद्ध विषयमा विद्यावारिधि गर्ने सबैलाई पुरस्कार दिइने
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा नरेशमान बज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका डा दीपकप्रकाश आचार्यलाई ‘रत्नज्ञान सिरपा (पुरस्कार)’ प्रदान गर्नुभयो । भक्तपुर बौद्ध सम्पदा सङ्घको १९औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा उहाँले नगद रु १० हजारसहित सम्मान प्रदान गर्नुभएको हो । सम्मान प्रदान गर्दै उपकुलपति प्रा डा बज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि हाल भइरहेको जग्गा अपुग भएकाले थप जग्गा खोज्ने कार्य भइरहेको र विश्वविद्यालयको गुरुयोजना बनाउने तयारीमा आफू लागेको बताउनुभयो । कार्यक्रममा भक्तपुर बौद्ध सम्पदा सङ्घका सल्लाहकार एवम् पुरस्कारका दाता पद्मसुन्दर शाक्यले आफ्ना बाजे विकुरत्न बुढाचार्य र बज्यै ज्ञानशोभा बुढाचार्यको नाउँमा हरेक वर्ष बौद्ध शिक्षामा विद्यावारिधि गर्ने एक जनालाई नगद रु १० हजार प्रदान गर्ने गरी पुरस्कारको स्थापना गरेको बताउनुभयो । सम्मानित व्यक्ति डा आचार्यले बुद्ध धर्मको प्रचारप्रसार बौद्ध अध्ययनका लागि अझ बढी लाग्नुपर्ने प्रेरणा आफूमा मिलेको उल्लेख गर्दै आफूले पुरस्कार स्वरुप पाएको नगद बौद्ध अनुसन्धान केन्द्र खोलेर त्यसैमा लगाउने इच्छा राखेको बताउनुभयो । कार्यक्रममा धर्मोदय सभाका सचिव अशोकानन्द वज्राचार्य, बुद्ध विहार मध्यपुर थिमि नगदेशका सचिव कृष्णकुमार प्रजापति, सङ्घका सल्लाहकार त्रिरत्न शाक्य, सङ्घका अध्यक्ष महेन्द्ररत्न शाक्य र सचिव प्रदीपरत्न शाक्यले बौद्ध धर्म दर्शनलाई संरक्षण गर्नु जरुरी रहेको बताउनुभयो ।