आज चार दलका शीर्ष नेताको निर्णायक वार्ता, विहानै बसेर विवादित विषय टुंग्याउने प्रयास हुने
संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउने आधार तयार गर्ने जिम्मेवारी पाएको चार दलीय कार्यदलले कुनै टुङ्गो लगाउन नसकेपछि पुनः जिम्मेवारी शीर्ष नेताहरूको काँधमा पुगेको छ । नेपाली काँग्रेस, नेकपा(एमाले), एमाओवादी र मधेसी मोर्चाका एक एक जना प्रतिनिधि सम्मिलित कार्यदलले दुई दिनसम्म विवादित विषयमा छलफल गरे पनि कुनै निर्णय गर्न नसकेपछि कार्यदलले असहमतिको प्रतिवेदन प्रमुख चार दलका शीर्ष नेताहरूलाई बुझाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा कार्यदलले विवादित विषयको कुनै टुङ्गो लगाउन नसकेको प्रतिवेदन बुझाएपछि उक्त विषयलाई चारदलले अन्तिम छलफल गरी निचोड निकाल्ने सहमतिका साथ बैठक सकिएको छ । बैठकपछि एमाले उपाध्यक्ष भीमबहादुर रावलले विवादित विषयबारे कार्यदलमा ब्यापक छलफल गरे पनि कुनै टुङ्गो लगाउन नसकेको र विषयवस्तुको जटिलताअनुरूप शीर्ष नेताको तहबाटै छलफल गरी टुङ्गो लगाउनुपर्ने देखिएकाले अन्तिम जिम्मेवारी शीर्ष नेतृत्वलाई सुम्पिएको बताउनुभयो । “हामीले कार्यदलको तर्फबाट विषयवस्तुमा गहिरो छलफल ग¥यौँ । समय अत्यन्त कम भएकाले निर्णायक वार्ताका लागि राजनीतिक शीर्ष नेताहरूको तहमा संयुक्त रूपमा बसेर छलफल गर्नुपर्छ भन्ने सुझाव राख्यौँ । त्यसमा नेताहरूबीचमा केहीबेर कुराकानी भयो र वार्तालाई अगाडि बढाउन भोलि बिहान ८ बजे बैठक बस्ने निर्णय भयो” कार्यदलका सदस्यसमेत रहेका नेता रावलले भन्नुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले कार्यदलको तर्फबाट व्यापक र खुलस्त छलफल गरी सहमति नजिक पुगेको तर सहमति गर्न नसकेकाले शीर्ष तहमै बसेर टुङ्गो लगाउने आसयको जानकारी गराएपछि विवादित विषयलाई अब शीर्ष नेताहरूले चाँडै टुङ्गो लगाउने बताउनुभयो । “कार्यदलको तर्फबाट उहाँहरूले मौखिक रूपमा सहमति गर्न नसकेको कुराकानी राख्नुभयो । विवादित विषयको टुङ्गो लगाउन हामीले तत्कालै शीर्ष तहमा वार्ता सुरु गरेका छौँ । भोलि चारदलबीच कुराकानी हुन्छ,” उहाँले भन्नुभयो । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यदलको छलफलमा सहमति नभएको तर विमतिका विषय साँघुरिएकाले शीर्ष नेताहरू बसेर सहमति गर्न सक्ने आधार खडा भएको बताउनुभयो ।