संविधानसभाको समय थप गर्न नहुने एमाले नेता नेपालको भनाई, संविधान नआएपनि म्याद थप्नु नपर्ने मन्त्री निधिको दाबी


madhavनेकपा (एमाले)का नेता माधवकुमार नेपालले विगतमा झै संविधानसभाको समय थप गर्न नहुने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को २५ औँ स्थापना दिवसका अवसरमा कााठमाडौमा आयोजना गरिएको कार्यक्रममा उहाँले दलहरूबीच सहमति नहुँदा समय थप गर्दै जान नहुनेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री समेत भइसक्नुभएका नेता नेपालले भन्नुभयो, “संविधान जारी गर्नका लागि समय थप गरे, एकमहिना, छ महिना, एकवर्ष, दुईवर्ष भन्दै चारवर्ष बित्छ, अनि संविधानसभा नै भङ्ग हुने खतरा हुन्छ, यसले गर्दा समय थप गर्नुहँुदैन ।” माघ ८ भित्रै संविधान जारी गर्नुको विकल्प नभएको भन्दै उहाँले विवादित विषयमा सहमतिका लागि आवश्यक सम्झौता गरेर भए पनि अघि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा राष्ट्रिय एकतालाई बलियो बनाउने, भौगोलिक, सांस्कृतिक, समावेशीका साथै दलित, महिला र अल्पसङ्ख्यक समुदायलाई केही वर्षका लागि विशेष व्यवस्था गर्ने खालको सङ्घीय संरचना बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । नेता नेपालले संविधान जारी गरिसकेपछि मात्रै सर्वदलीय सरकार वा राष्ट्रिय स्वामित्वको सरकार, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका विषयमा जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अर्कोतिर रुकुम पुगेर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधिले माघ ८ मा संविधान जारी नभए पनि संविधानसभाको म्याद थप्नु नपर्ने बताउनुभएको छ । चार वर्षका लागि संविधानसभाको निर्वाचन गरेको भन्दै मन्त्री निधिले चालु संविधानसभाले नयाँ संविधान जारी गर्न चार वर्षसम्मको जनादेश(म्यान्डेट) लिएर आएको उल्लेख गर्नुभयो । खलङ्गामा गरेको पत्रकारसम्मेलनमा मन्त्री निधिले सम्झौतामै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । संविधान बनाउन अनेक पाटाबाट छलफल भइरहेको जानकारी दिँदै मन्त्री निधिले सरकारको पहिलो प्राथमिकता संविधान निर्माण र जारी गर्नु रहेको बताउनुभयो । काँग्रेस पहिलो पार्टी हुनुका नाताले पनि लचक भएरै संविधान निर्माणमा ध्यान दिइरहेको भन्दै उहाँले यदि संविधान बन्दैन भने एकीकृत माओवादी र मधेसवादी दलका कारण नबन्ने ठोकुवा गर्नुभयो । प्याकेजमै सहमति हुँदा सरकार निर्माणको कुरा पनि सँगसँगै आएको भन्दै उहाँले त्यसलाई अन्यथा मान्न नहुने बताउनुभयो । “सहमतीय सरकारको कुरा उठेको छ”–मन्त्री निधिले भन्नुभयो–“तर पात्र को भन्ने विषयमा छलफल भएको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?