लेनदेनमा विवादः घुम्ने बहानामा जङ्गल लगी घाँटी रेटेर साथीको हत्या !


झापा । आर्थिक लेनदेनमा कु्रा नमिलेपछि झापामा एक युवकले आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको खुलेको छ । जिल्लाको शिवसताक्षी नगरपालिकाका २८ वर्षीय गोमानसिंह मगरको हत्या अभियोगमा पक्राउ परेका युवाले लेनदेन विवादका कारण आफूले साथीको हत्या गरेको खुलासा गरेका हुन् ।

शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बूले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरको दुई दिनअघि जङ्गलमा लगी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बू र मृत्तक मगर मिल्ने र नजिकका साथी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दुवैबीच लेनदेन विवाद रहेको खुलेको छ । लिम्बूले गत मंगलबार साँझ फोन गरेर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट धारिलो कर्दले घाँटी रेटेर हत्या गरेको अभियुक्त लिम्बूले वयान दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

तर मगरको शव बुधबार बिहान करिब १० बजे शिवसताक्षी ११ सताक्षीधाम जाने भित्री सडकमा भेटिएको थियो । मगरको शव घाँटी काटिएको अवस्थामा भेटिएको थियो । सूचना पाए लगत्तै प्रहरीले विशेष टोली बनाएर घटनाको अनुसन्धान थालेको थियो ।अनुसन्धानका क्रममा प्रहरीले मनकुमार लिम्बूलाई पक्राउ गरेपछि उनले नै मगरको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

साथीको हत्या गर्ने मनकुमार लिम्बु

लिम्बूलाई शुक्रबार पक्राउ गरी नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले नै मृतकलाई मिति मंगलबार साँझ भेट्न बोलाई मगरले चलाएको मोटरसाईलको पछाडि बसी ‘बेलुकाको हावा खाई फ्रेस हुन सताक्षी धाम मन्दिरतर्फ जाऔ’ भनी मोटरसाईकल बिस्तारै चलाउन लगाइ लिएर गएको र घटनास्थलमा पुग्नासाथ मोटरसाइकल चलाइरहेकै अवस्थामा पछाडिबाट लिम्बूले साथमा लुकाएर बोकेको धारिलो हतियार ‘कर्द’ प्रहार गरी मगरको घाँटी काटेको प्रहरीको भनाइ छ ।

लिम्बूले चलाउने मोबाइल फोन तथा हत्यामा प्रयोग गरिएको कर्द खोलामा फालेको र पछि प्रहरीले स्काभेटर प्रयोग गरेर ती सामान बरामद गरेको थियो । लिम्बूले चलाउने गरेको मोटरसाइकल पनि जंगलमा लडेको अवस्थामा भेटिएको थियो ।

हत्याको अभियोग लागेका लिम्बूलाई आइतबार जिल्ला अदालत झापाबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार हत्याको कारण उनीहरूबीच भएको आर्थिक लेनदेन र त्यसपछि उत्पन्न मनमुटाव रहेको प्रहरीको भनाइ छ । ‘अभियुक्त लिम्बूले मेरो १०–१२ लाख पैसा हिनामिना गर्‍यो । हिसाबै गरेनन् भन्ने प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

यो पनि…

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?