उड्डयन विज्ञहरुको शंका, मौसम मात्र विमान बेपत्ता हुनुको कारण नहुनसक्छ
उड्डयन विज्ञहरुले खराब मौसमका कारण विमान बेपत्ता भएको कुरामा शंका व्यक्त गरेका छन् । अष्ट्रेलियामा यस विषयलाई लिएर गरिएको एक टेलिभिजन कार्यक्रममा पिटर मारोसेज्कीले विमानमा राडार हुने र यसले १ सय ५० नटिकल माईल सम्मको मौसमको विषयमा जानकारी गराउने भएकोले खराब मौसम अनि मेघ गर्जन भएको ठाउँको जानकारी पाईलटले पहिल्यै पाउने बताए । यस्तो अवस्थामा त्यहाँ नै विमान गएको थियो भन्ने कुरा एकिन गर्न नसकिने उनको भनाई छ । पाईलटले यदि त्यस्तो अवस्था देखेमा विमान उडेकै विमानस्थलमा फर्काउन समेत सक्दछ । तर, यस्तो भएन । यसैले हतारमा मौसमलाई मात्र दोष दिनु गल्ती हुनसक्छ, उनको भनाई छ । यसैगरी अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा व्यवस्थापन संघका उपाध्यक्ष डेस्मोन्ड रोसले पनि विमान कसरी त्यस्तो खराब मौसम भएको ठाउँमा पुग्यो भन्ने कुराको अनुसन्धान गरिनुपर्ने बताउनुभयो । मौसम मात्र यो विमान बेपत्ता हुनुको कारण नहुनसक्छ ।