नामिबियामा हुने आइसिसी क्रिकेट डिभिजन दुईको तयारी तीव्र


cricketआइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा दोस्रोपटक पुनः प्रवेश गरेको नेपाली क्रिकेट टोली अहिले प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यका साथ कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दु्रतगतिमा अभ्यासरत छन् । आगामी माघ ३ देखि १० गतेसम्म नामिबियामा हुने आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको तयारीका लागि नेपाली टोली दैनिक छदेखि आठ घन्टासम्म अभ्यासरत रहेका हुन् । यसै वर्ष मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्रीमा अफ्रिकी प्रतिद्वन्दी युगान्डालाई फाइनलमा पराजित गर्दै नेपाल डिभिजन दुईमा पुनः दोस्रोपटक उक्लिएको हो । यसअघि जनवरीमा न्युजिल्याण्डमा भएको एक दिवसीय विश्वकप छनोटमा नेपाल नवौँ स्थानमा रहँदै रेलिगेसनमा परेपछि डिभिजन दुईबाट पुनः डिभिजन तीनमा घटुवा भएको थियो । त्यतिबेला १० राष्ट्रले भाग लिएको सो प्रतियोगितामा नेपाल नवाँै र युगान्डा दशौँ स्थानमा रहँदै डिभिजन तीनमा घटुवा भएका थिए । उक्त प्रतियोगिताको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले फिजिकल टे«नरलाई नेपालमै बोलाएको छ । भारतबाट बोलाइएका फिजिकल ट्रेनर बासिम अन्सारीले अहिले नेपाली टोलीलाई अभ्यास गराइरहनुभएको छ । यस्तै, बलिङतर्फको प्रशिक्षणका लागि श्रीलङ्काबाट आउनुभएका तीव्र गतिका दुई बलर रजिथ प्रियंक र रुबिन्दा समेनले पनि नेपाली खेलाडीलाई बलिङ प्रशिक्षण गराइरहनुभएको छ । आइसिसीको हाई पर्पmर्मेन्स कार्यक्रमअनुसार नेपालले प्रतियोगिता तयारीका लागि आगामी जनावरी ३ देखि १३ तारिखसम्म दक्षिण अफ्रिकाको भ्रमणसमेत गर्दैछ । भ्रमणक्रममा नेपाली टोलीले त्यहाँका स्थानीय चार क्लबसँग अभ्यास खेलसमेत खेल्ने निश्चित भइसकेको क्यानका कार्यबाहक महासचिव उत्तम कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली टोलीले जनवरी ५ मा इस्टर्न सेमीसँग प्रतिस्पर्धा गर्दै अभ्यास खेलको उद्घाटन गर्नेछ । त्यस्तै जनवरी ७ मा नर्दन सेमी, ८ मा गाउटेङ सेमी र १२ तारिखमा एकेडेमी टिमसँग अभ्यास खेल खेलेपछि टोली प्रतियोगिताका लागि त्यतैबाट नामिबिया जाने कार्यक्रम रहेको क्यानले जनाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले बन्द प्रशिक्षण दौरानमा खेलाडीको ब्याटिङ र बलिङको सीप बढाउन खोजिएको बताउनुभयो । उहाँले यसअघि डिभिजन तीन खेलेर आएयता नेपाली टोलीमा १० प्रतिशत सुधार भएको बताउँदै दक्षिण अफ्रिकामा हुने अभ्यास खेलले पनि प्रतियोगितामा थप सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै, नेपाली टोलीका पूर्व कप्तान एवम् हालका सहायक प्रशिक्षक विनोद दासले पहिलेभन्दा अहिले नेपाली टोलीको ब्याटिङ र बलिङमा निकै सुधार आएको बताउनुभयो । नेपाली टोलीका कप्तान पारस खड्काले खेलाडीले निकै मेहनत गरिरहेको बताउँदै डिभिजन दुईका प्रत्येक खेल महत्वपूर्ण हुने भएकाले पनि सबै खेलाडीले सक्दो मेहनत गरिरहेको उल्लेख गर्नुभयो । नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, शक्ति गौचन, सागर पुन, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, नरेश बुढाऐर, शरद भेषवाकर, अमृत भट्टराई, आरिफ शेख, करन केसी र भुवन कार्र्की छन् । त्यस्तै, राहुल विक, रामनरेश गिरी, राजेश पुलामी र महबुब आलम भने वैकल्पिक सूचीमा परेका छन् । लामो समयदेखि चोटका कारण पृथु बाँस्कोटा, जीतेन्द्र मुखिया र अविनाश कर्ण भने राष्ट्रिय टोलीमा पर्न सकेनन् । यसैगरी डिभिजन दुईको टिम व्यवस्थापकमा दिवाकर घले, सहायक प्रशिक्षकमा विनोद दास, टेक्निकल एनालिस्टमा रमन सिवाकोटी र फिजियोमा दिनेश भट्ट हुनुहुन्छ । राउन्ड रोबिन लिगका आधारमा खेलाइने उक्त प्रतियोगितामा नेपालसहित आयोजक नामिबिया, केन्या, क्यानाडा, नेदरल्यान्ड्स र युगान्डाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोली आइसिसी विश्व क्रिकेट लिग डिभिजन च्याम्पियन र आइसिसी इन्टरकन्टिनेन्टल कपका लागि छनोट हुनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?