पूर्व भारतीय सैनिकद्धारा भाडामा बस्ने बालिकालाई दुई वर्षदेखि बलात्कार !


। मोरङमा पूर्व भारतीय सैनिकले आफ्नै घरमा भाडामा बस्ने १५ वर्षीया बालिकालाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । आफ्नै घरमा भाडा बस्ने १५ वर्षीया बालिकामाथि बलात्कार गरिरहेको आरोपछि प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का ५४ वर्षीय उमेश नेपाललाई बुधबार पक्राउ गरेको हो । दुई वर्षदेखि आफूमाथि बलात्कार गरिरहेको कुरा बालिकाले मंगलबार साँझ अभिभावकलाई सुनाएसँगै घटना बाहिरिएको हो । बालिकाका परिवार चार वर्षदेखि नेपालको घरमा भाडामा बस्दै आएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रारम्भिक अनुसन्धानबाट आफ्नै घरमा अभिभावकसँग भाडामा बस्ने बालिकामाथि नेपालले दुई वर्षदेखि बलात्कार गरिरहेको खुलेको जानकारी दिए । नेपालविरुद्ध किटानी जाहेरी परेपछि पक्राउ गरिएको उनले बताए ।

कसैलाई पनि नसुनाउन विभिन्न धाकधम्की दिँदै बलात्कार गरिरहेका कारण अहिलेसम्म घटना गुपचुप रहेको पाइयो, प्रहरी स्रोतले भन्यो, बालिकालाई धम्की दिँदै पछिल्लो समय आफूसँग बिहे गर्नु पर्ने दबाब दिन थालेपछि घटना बाहिर आएको हो ।प्रहरीका अनुसार बालिकाले आफूमाथि घरकै कोठा, होटल र बाटोमासमेत बलात्कार भएको बताएकी छन् ।

नेपालले प्राय बिहान ३ बजेतिरै उठाएर मर्निङवाक जाने भन्दै लिएर जाने र त्यस क्रममा बाटोमा आफूमाथि बलात्कार गर्ने गरेको उनले बताएको प्रहरीले जनाएको छ । धेरै पहिलेदेखि मानसिक तनावमा रहेकी छोरीले डर र धम्कीका कारण यो कुरा हामीलाई सुनाउन नसकेको रहेछ । भित्रभित्रै मसँग बिहे गर्नुपर्छ भनेर नेपालले बारम्बार दबाब दिन थालेपछि घटनाका बारेमा रुँदै छोरीले आफूलाई सुनाएको उनले बताए ।

एसपी खड्काले ललाईफकाई बलात्कार गर्दै कसैलाई सुनाएमा ज्यान मार्ने र परिवारलाई घरबाट निकालिदिने धम्कीसमेत दिने गरेका कारण बालिकाले घटनाका बारेमा बाहिर नल्याएको पाइएको बताए । उनका अनुसार पैसा दिने र विभिन्न लोभलालच देखाउँदै बलात्कार गर्ने नेपालले बालिकालाई आफूसँग बिहे गर्नलाई पनि दबाब दिइरहेको खुलेको छ । अभिभावकले किटानी जाहेरी दिएपछि प्रहरीले नेपाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?