नागरिक उड्डयन प्राधिकरणले कमायो नाफा, १ अर्ब ८ करोड मुनाफा
स्थापनाकालदेखि निकै घाटा बेहोर्दै आएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा सञ्चित नाफा आर्जन गर्न थालेको छ । क्यानले आफ्नो स्थापनाकालदेखि पहिलोपटक आर्थिक वर्ष २०६८ मा खुद सञ्चित नाफा रु ७१ करोड २९ लाख आर्जन गरेको थियो भने त्यसको लगत्तै आव २०६९÷०७० मा खुद नाफा रु एक अर्ब आठ करोड ५५ लाख र आव २०७०÷०७१ मा रु एक अर्ब ४१ करोड ५५ लाख भएको थियो । क्यानको वित्तीय विवरणअनुसार गत आवसम्मको सञ्चित नाफासमेत गणना गर्दा आव २०७०÷०७१ सम्मको कुल सञ्चित नाफा रु तीन अर्ब २१ करोड ३३ लाख हुन पुगेको छ । क्यानले नाफा आर्जन गरेसँगै यसै वर्षदेखि सरकारलाई सेयर लगानीबापत लाभांश वितरणका लागि रकम छुट्याएको र ऐनअनुसार कर्मचारीलाई वोनस वितरण गर्न पहल भइरहेको क्यानका महानिर्देशक रतीशचन्द्रलाल सुमनले जानकारी दिनुभयो । क्यानलाई आर्थिक रूपमा सक्षम बनाउँदै सेवालाई आधुनिक, गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर लागिपरेको उहाँले बताउनुभयो । यसैगरी क्यानले लक्षित प्रक्षेपणअनुसार स्थापनाकालदेखि हालसम्मकै उच्चतम कारोबार गरेको छ । आव २०७०÷०७१ का लागि रु तीन अर्ब ४४ करोड ९७ लाख आम्दानी प्रक्षेपण गरेको क्यानले यथार्थमा रु १५ करोड ४३ लाख वृद्धि भई रु तीन अर्ब ६० करोड ४० लाख पु¥याउन सफल भएको छ । क्यानको व्ययअन्तर्गत पुँजीगत खर्चतर्फ रु नौ अर्ब ३२ करोड ८६ लाख र सञ्चालन खर्चतर्फ रु दुई अर्ब १२ करोड ९७ लाख गरी जम्मा रु ११ अर्ब ४५ करोड ८३ लाख व्यय अनुमान गरिएकामा पुँजीगत खर्चतर्फ रु दुई अर्ब ४१ करोड ६२ लाख र सञ्चालन खर्चतर्फ रु एक अर्ब ४९ करोड छ लाख गरी रु तीन अर्ब ९० करोड ६८ लाख मात्र खर्च भएको छ । चालु आर्थिक वर्ष २०७१÷०७२ का लागि पुँजीगततर्फ रु १३ अर्ब ३२ करोड २४ लाख तथा कार्य सञ्चालनतर्फ रु तीन अर्ब पाँच करोड ५७ लाख गरी जम्मा रु १६ अर्ब ३८ करोड ८१ लाख प्रस्ताव गरिएको क्यानले जनाएको छ ।