लाखौं जनताको ऐक्यबद्धताका साथ हिन्दू राष्ट्रको माग अनुमोदित भएको कमल थापाको भनाई, सकियो रथयात्रा


???????????????????????????राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यही पुस ९ गतेदेखि काँकडभिट्टाबाट सुरु गरेको मेची–महाकाली श्री पशुपतिनाथ हिन्दूराष्ट्र पुनःस्थापना सङ्कल्प रथयात्राको समापन गरेको छ । आज टुँडिखेलको खुलामञ्चमा आयोजित समापन सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्दै नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने उद्देश्यले गरिएको सो रथयात्राका क्रममा सडकमा लाखौँलाख जनताले ऐक्यबद्धता व्यक्त गरेको बताउनुभयो । उहाँले विगतमा विदेशी प्रभाव र दबाबका कारणले धर्म निरपेक्षता घोषणा गरिएको भए पनि मुलुकमा ८१ प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको र अन्य धर्मका १३ प्रतिशत धर्मावलम्बी पनि कुनै न कुनै रुपमा ओमकार परिवारभित्र रहेकाले करिब ९४ प्रतिशत नेपालीको साझा संस्कृति र चाडपर्वको आधार सनातन मान्यता हो भन्नुभयो । अध्यक्ष थापाले भन्नुभयो–“नेपालीको पहिचान अहिले सङ्कटमा परेको छ, सामाजिक सद्भाव तथा एकता खल्बलाइएको छ, धार्मिक द्वन्द्वको बिजारोपण गरिएको छ । यसको अन्त्यका लागि नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्छ ।” जनताले देखाएको उत्साहले उनीहरुका तर्फबाट हिन्दू राष्ट्र घोषणा भइसकेको छ, अब कसैले रोकेर पनि धर्मनिरपेक्ष कायम हुन सक्तैन । जनताको भावनाविपरीत जाने कार्य भए आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको नेतृत्व गर्ने उहाँले  बताउनुभयो । पार्टीका सह–अध्यक्ष केशरबहादुर विष्ट, सहायक महामन्त्री राजाराम श्रेष्ठ, नेता विक्रमबहादुर थापालगायतले संविधानसभाबाट जनताको चाहना अनुसारको धर्मसापेक्ष प्रजातन्त्रसहितको संविधान जारी गर्नुपर्नेमा जोड दिँदै निषेधको राजनीतिले गर्दा राणाशासन तथा पञ्चायती शासन नटिकेको र अहिले पनि ठूला दलले निषेधको राजनीति त्यागेर सहकार्यबाट अघि बढ्नुपर्ने बताउनुभयो । सो रथयात्रा मेचीदेखि महाकालीसम्मका विभिन्न ३० जिल्लामा गरिएको बताइएको छ ।  यसैबीच, सोही पार्टीका असन्तुष्ट पक्षहरुले पार्टी अध्यक्ष थापाको कार्यशैलीको विरोध गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए । राप्रपा नेपाल सुदृढीकरण अभियानले आज एक विज्ञप्ति प्रकाशित गरी संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको मूल मुद्दा छाडेको, धर्मको नाममा व्यापार गरेको, जनतासँग चन्दा असुल्दै भ्रष्टाचार गरेकाले अध्यक्ष कमल थापाको विरोधमा अभियानको आह्वानमा आज खुलामञ्चमा साङ्केतिक शान्तिपूर्ण विरोध प्रदर्शन गरेको जनाएको छ । राप्रपा नेपालका असली सिद्धान्तका रक्षार्थ कालो झण्डा प्रदर्शन गर्दै, राप्रपा नेपाल जिन्दावाद, हिन्दू राष्ट्र जिन्दावाद, तथा थापाका विरुध्दमा नारा लगाउँदै शान्तिपूर्ण रुपमा विरोध गरिरहेको बेला थापाको निर्देशनमा ढुङ्गामुढा गरिएको अभियानले आरोप लगाएको छ । ढुङ्गामुढाबाट अभियानसँग सम्बन्धित केन्द्रीय तहका नेताहरु क्रमशः हरि देवकोटा, शोभबहादुर बस्नेत, इन्दु आचार्य, सरस्वती श्रेष्ठ, देवीप्रसाद पन्त, कृष्णहरि थापा, केही युवाहरुलगायत सुरक्षामा खटिएका चार प्रहरी घाइते भएका अभियानले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?