बंगलादेशमा प्रजातन्त्रको हत्या भएको दिन, प्रतिपक्षी नेतालाई कार्यालयमै थुनियो
बङ्गलादेशमा गत वर्ष भएको निर्वाचनपछि एक वर्ष पुरा हुँदा उत्पन्न तनावका कारण प्रहरीले राजधानीमा आइबारदेखि सबै विरोधमा प्रतिबन्ध लगाएको छ र प्रमुख प्रतिपक्षी नेता खालेदा जियालाई ढाकामा उहाँकै कार्यालयमा थुनेर राखिदिएको छ । उक्त निर्वाचनलाई जियाको दलले बहिष्कार गरेको थियो । जियाले सोमबार ‘‘प्रजातन्त्रको हत्या भएको दिन’’ ठानी आम प्रदर्शन गर्ने चेतावनी दिनुभएको थियो । सत्ताधारी दलले धाँधली गर्नसक्ने आधारमा बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) तथा उसका सहयोगी दलहरूले उक्त निर्वाचनमा भाग लिन अस्वीकार गरेका थिए । जियाका सहयोगी एस.आर. सिमुल विश्वासले जियालाई कार्यालयमै बन्द गरिएको र प्रहरीले उक्त क्षेत्रलाई घेराबन्द गरेको तथा सडकमा बाधा राखेको जानकारी दिए । उनले जियाले आफ्ना बिरामी मित्रलाई मध्यरातमा भेट्न खोजेको तर उहाँलाई त्यसो गर्न नदिइएको उल्लेख गरे । सत्ताधारी दलले प्रतिद्वन्द्वको रूपमा सभा आयोजना गर्ने घोषणा गरेपछि प्रहरीले राजधानीमा हिंसा हुन नदिन आइतबार साँझ ५ः०० बजेदेखि सबै विरोध, भेला तथा प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । ढाका प्रहरी प्रवक्ता मसुदुर रहमानले प्रतिद्वन्द्वी राजनीतिक दलहरूले द्वन्द्वका आशङ्का बढाएपछि आफूहरूले यस प्रकारको भेलामा प्रतिबन्ध लगाएको बताए । प्रतिपक्षी दसौँ हजार कार्यकर्ता ढाका आइपुग्ने डरले राजधानी जान लागेका बस तथा अन्य यातायात रोकिएका छन् । यसरी यो नगर बाँकी मुलुकबाट पृथक भएको जानकारी यातायात सञ्चालकहरूले दिएका छन् । जियाले गाडीमा कार्यालय छोड्ने प्रयास गरे पनि उहाँलाई रात कार्यालयमै बिताउन बाध्य बनाइएको उहाँका सहयोगीले बताए । उनले आफूहरूले जियालाई हिरासतमा नलिएको तर सुरक्षा विस्तार गरेको र उहाँ आफ्नो कार्यालयबाट बाहिर ननिस्किएको बताए । बीएनपीका अधिकारीहरूले आफ्नो पार्टीका दुई वरिष्ठ नेताका साथमा कम्तीमा ४०० समर्थक पक्राउ परेको दाबी गरेका छन् । सोमोय टेलिभिजनले प्रहरीले बीएनपीका उपप्रमुख फखु्रल इस्लाम अलामगिरको घरमा छापा मारेको जानकारी दिएको छ । उक्त समयमा उहाँ घरमा हुनुहुन्थ्यो वा हुन्थेन भन्ने स्पष्ट भएको छैन । जनवरी १ मा जियाले निपष्क्ष कामचलाऊ सरकारबाट नयाँ निर्वाचन गराउन माग गर्दै मुलुक बन्द गर्ने चेतावनी दिएपछि तनाब बढेको छ । जियाले नाटकीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि उहाँका प्रतिद्वन्द्वी प्रधानमन्त्री सेख हसिनालाई सरल विजय प्राप्त भएको थियो । गत वर्षको निर्वाचनको अवधिमा जियालाई घरमै सीमित गरिएको थियो भने निर्वाचन पछि उहाँ रिहा हुनुभएको थियो । जिया तथा उहाँका सहयोगीले प्रधानमन्त्री हसिनाले पक्षपाती निर्वाचन आयोग तथा दलगत नागरिक तथा सुरक्षा संस्थाका कारण धाँधली गर्ने आरोप लगाउनुभएको थियो । अमेरिकाले उक्त निर्वाचनले जनताको चाहना विश्वसनीय रूपमा प्रतिविम्बित नगर्ने बताएको छ । विवादास्पद निर्वाचन पछि प्रधानमन्त्री हसिनाले प्रतिपक्षी अधिकारीहरूलाई पक्राउ गरी आफ्नो शक्ति बलियो बनाउनुभएको छ । उहाँले सयौँ व्यक्तिलाई हिंसा गरेको भन्ने आरोपमा कारवाही गर्नुभएको छ र जिया तथा उहाँका जेठा छोरामाथि भ्रष्टाचारको आरोप लगाउनुभएको छ । बीएनपीका बीसौँ कार्यकर्ता हराएका छन् र मानव अधिकारवादी समूहले त्यसको आरोप सुरक्षासंस्थामाथि लगाएका छन् ।