के भयो बालुवाटारमा आइतबार राति ? सोमबारको समयसीमा त्यतिकै जाने अवस्था, आज दिनभर छलफल


??????????????????????????????????संविधानका विवादित विषयमा सहमति जुटाउने उद्देश्यका साथ आइतबार साँझ बसेको प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाको बैठकबिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटामा आज साँझ बसेको बैठकमा कुनै पनि ठोस सहमति नभएको तर सोमबार बिहानैदेखि पुनः द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय छलफल गरिने कार्यसूची तयार भएको नेताहरूले जानकारी दिनुभएको छ । विषय केन्द्रित छलफल भएको र सबै विवादित विषयमा एकैपटक समान धारणा तय गरिने भएकाले छलफललाई निरन्तरता दिइएको उहाँहरूको भनाइ छ । बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले विषय केन्द्रित छलफल भएको भएपनि ठोस सहमति नभएको जानकारी दिनुभयो । उहाँले आज नेपाली काँग्रेस र नेकपा(एमाले) बीच पहिलो चरणको छलफल हुने र सो छलफलपछि एकीकृत नेकपा(माओवादी)सँग संवाद भएपछि संयुक्तरूपमा चार पक्षको बैठक बोलाइएको बताउनुभयो । प्रमुख विवादित विषयमा सहमति जुटाउन सभाध्यक्ष सुवास नेम्वाङले आजसम्मको समयसीमा दिनुभएकाले सोही अवधिभित्र केही न केही निर्णय गर्नै पर्ने बाध्यतामा प्रमुख राजनीतिक दल रहेका छन् । यही पुस १७ गते सभाध्यक्ष नेम्वाङले सहमति गर्न नसके आफूलाई मस्यौदा गर्ने अधिकार दिन प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्नुभएको थियो । तर आइतबारको बैठकमा कुनै पनि विषयमा सहमति हुन नसकेको अवस्थामा उहाँको समयसीमाभित्र विवादित विषयमा टुङ्गो लाग्ने सम्भावना कम रहेको छ । बैठकपछि बाहिरिने क्रममा नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले छलफल जारी रहेका कारण उल्लेख गर्नुपर्ने कुनै पनि विषय नभएको जानकारी दिनुभयो । उहाँले सोमबार सहमति जुटाउने प्रयत्न जारी रहने र केही न केही निकास भने पक्कै पनि आउने बताउँदै माघ ८ गते भित्र संविधान जारी गर्ने गरी सम्वाद गरिएको जानकारी दिनुभयो । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने माघ ८ गते नै संविधान जारी हुने सम्भावना सकिएका कारण सहमतिमा नै प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो । छलफल जारी रहेपनि हालसम्म कुनै पनि विषयमा सहमति नभएको जानकारी दिँदै उहाँले आजको बैठकमा कसरी अगाडि बढ्ने भन्ने विषयमा एउटा निष्कर्षमा पुगिने जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, काँग्रेसका उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रम तथा उपाध्यक्ष वामदेव गौतम, उपाध्यक्ष विद्यादेवी भण्डारी सहभागी हुनुहुन्थ्यो । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठ र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार, राजेन्द्र महतो, महहन्थ ठाकुर र शरत्सिंह भण्डारी सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?