बालिका अपहरण गर्ने शंकर नेपाली पक्राउ, स्थानीयवासीले पक्राउ गरेर प्रहरीमा बुझाए
नुवाकोट जिल्लाको तुप्चे गाविसकी एक बालिकालाई अपहरण गरेको अभियोगमा रसुवाका युवालाई प्रहरीले पक्राउ गरेको छ । तुप्चे–२ घर भई वडा ४ चनौटेमा बस्दै आएका रामजी पुडासैनीकी चार वर्षीया छोरी सृष्टि पुडासैनीलाई अपहरण गरेको अभियोगमा रसुवा ठूलागाउँका १८ वर्षीय शङ्कर नेपालीलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । पुडासैनीको घरमा बास बस्न पुगेका नेपालीलाई ठाउँ नभएकाले बास बस्न दिन नसकिने भनेपछि छोरी बोकेर हिँडेको प्रहरीले जनाएको छ । राति नै स्थानीयले गाउँ घेरेर खोजेपछि तुप्चेकै कर्मीटारमा बालिकालाई छोडेर नेपाली भागेका थिए । स्थानीयले नै नेपालीलाई समातेर प्रहरीलाई बुझाएका थिए ।