आज पेरिसमा एकता यात्रा, राष्ट्रपतिदेखि सर्वसाधारणसम्म सहभागी हुने, यसरी अन्त्य भयो आतंकको श्रृंखला
फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले आइतबार पेरिसमा एक एकता यात्रामा भाग लिने बताउनुभएको छ । यस र्यालीमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन पनि सहभागी हुनुहुनेछ । यसैगरी यस यात्रामा लाखौँ जनता तथा जर्मनी, बेलायत, इटाली तथा स्पेनका नेताहरू सहभागी हुने अनुमान गरिएको छ । मुख्यतः व्यंग्य पत्रिकाको कार्यालयमा गरिएको योजनाबद्ध आक्रमण र त्यसपछि बढ्दै गएका श्रृंखलाकाबीच पूरै फ्रान्सलाई यस्ता गतिविधिकाविरुद्ध एकताबद्ध बनाउन यस्तो कदम चालिएको हो । यसअघि, फ्रान्सेली सेनाले चार्ली हेब्दो आमहत्याका दोषी दुई दाजुभाइ तथा उनीहरूका एक सहयोगीलाई तीन दिनसम्म रक्तपातपछि मारेका थिए भने यस घटनाले फ्रान्सलाई भित्रैबाट स्तब्ध बनाएको छ । यी बन्दुकधारीले बुधबार व्यङ्ग्यात्मक साप्ताहिक पत्रिकाको कार्यालयमा १२ व्यक्तिको हत्या गरेपछि मुलुकलाई नै किनारामा पारेका थिए भने उनीहरूलाई मारेपछि पनि प्रहरी यी पुरुषका एक महिलामित्रको खोजीमा देखिएका छन् । घातक हतियार लिएका दाजुभाइलाई पेरिसको उत्तरपूर्वी सानो नगरमा घेरिएको थियो भने तेस्रो व्यक्तिले एक यहुदी विशालवजारमा त्रस्त ग्राहकलाई बन्धकमा लिएका थिए । यहाँ चार व्यक्तिको मृत्यु भएको छ भने तीन प्रहरी सहित सात घाइते भएका छन् । सूर्यास्त भएपछि प्रहरी यी आतङ्कवादी रहेका दुई स्थानमा अगाडि बढेपछि विष्फोट भएको थियो । दाजुभाइ सेरिफ तथा सइद कौची तथा विशालबजारका बन्दुकधारु अमेदी कुलिबालीले तीनै गुप्तचरका संस्थाका लागि परिचित व्यक्ति भएको अवस्थामा पनि उनीहरू कसरी सुरक्षा घेरा तोड्न सफल भए भनी प्रश्न उठिरहेका छन् । बिहीबार महिला प्रहरीको हत्याका लागि प्रहरीले खोजिरहेका कुलिबालीका महिला मित्र हयात बुमेदिनलाई अझै पनि पक्राउ गर्न सकिएको छैन । आक्रमणका शृङ्खला फैलने आशङ्कामा अमेरिकाले विश्वव्यापी चुनौतीको चेतावनी दिएको छ । उसले आफ्ना नागरिकलाई विश्वको सबै भागमा आतङ्कवादी क्रियाकलाप तथा हिंसाका लागि सर्तक बनाएको छ । फ्रान्सेली राष्ट्रपति अलोँले फ्रान्सको चुनौती नसिकएको बताउनुभएको छ । उहाँले विशालबजारमा आक्रमणलाई यहुदीविरुद्धको आक्रमण मान्नुभएको छ । उहाँले यी सनकी व्यक्तिको मुसलमान धर्मसँग कुनै लेनदेन नभएको बताउनुभयो । कौची दाजुभाइलाई शुक्रबार पेरिसको बाहिरी भागमा रहेको दार्माताँ–एँ–गोलमा घेरिएको थियो । यसअघि उनीहरूको प्रहरीसँग गोली प्रहार भएको थियो र पेरिसका वकिल फ्राँस्वा मोलाँले उक्त घटनामा सइद सामान्य घाइते बताए । यी दाजुभाइले त्यहाँको व्यवस्थापकलाई बन्धक बनाएका थिए र सइदको घाउमा सहयोग गरिदिएकाले उनीहरूले यी व्यवस्थापकलाई छोडिदिएका थिए । एक व्यक्ति त्यसको भ¥याङमाथि ‘सिन्क’तल लुकेर बसेका थिए । यी लुकेर बसेका व्यक्तिले सुरक्षा बलललाई त्यहाँको सूचना उपलब्ध गराएका थिए र उनीलाई कुनै चोटपटक नलागेको बताइएको छ । यी आतङ्कवादीसँग मोलोटोभ तथा रकेट प्रक्षेपकका साथमा ठूलो मात्रामा घातक हतियार रहेको थियो । फ्रान्सको विशेष सेना घटनास्थलमा पुगेको थियो र त्यसपछि गोली प्रहारका घटना भएका थिए । त्यसअघि कुलिबालीले एक यहुदी विशालबजारमा प्रवेश गरी चार ग्राहकलाई मारी एक व्यक्तिलाई बन्धक बनाएका थिए । स्थानीय समय अनुसार ५ः०० बजेपछि सूर्यास्त भएपछि चार्ली हेब्दोमा आक्रमण गर्ने दुई इस्लामी बन्दुकधारीमाथि कारबाही भएको थियो । यसको केही समयपछि सुरक्षा सेना विशालवजारमा प्रवेश गरेको थियो र त्यससमयमा कुलिबाली साँझको प्रार्थनामा रहेका थिए । बीएफएमटीभीले प्रहरीले कुलिबाली निरस्त्र भएको समयको फाइदा लिएको जानकारी दिएको छ । यसबीच यी तीन व्यक्ति सुरक्षा सञ्जालबाट कसरी बाहिरिन सफल भए भन्ने प्रश्न उठेको छ । कुलिबाली तथा इस्लामी दाजुभाईबीच सम्बन्ध रहेको र उनीहरूले मिलेर काम गरेको देखिएको छ । यी तिनै व्यक्तिको कट्टरवादी भएको जानकारी फ्रान्सेली गुप्तचरलाई भएको बताइएको छ । बत्तीस वर्षीय सेरिफ कौची जिहादी थिए र निजले इराकमा लडाकू पठाउने काम गरेको भनी सन् २००८ मा कारवाही भोगेका थिए । निजका भाई ३४ वर्षीय सइदले सन् २०११ मा यमनको भ्रमण गरेको र निजले त्यहाँ एक्युएपीबाट हतियारसम्बन्धी तालिम प्राप्त गरेको बताइएको छ । यी दाजुभाई अमेरिकी आतङ्कवादीको सतर्कता सूचीमा परेको बताइएको छ । सेरिफले फ्रान्सेली टीभीलाई आफूले यमनमा केन्द्रीय कार्यालय रहेको अल–कायदा इन दी अरेबियन पेनिनसुलाका लागि काम गरेको र कुलिबालीले आफू इस्लामी स्टेट समूहका व्यक्ति भएको बताएका थिए । कुलिबालीले सन् २०१३ मा पाँच वर्षका लागि कारागारमा रहँदा कौचीलाई भेट गरेको बताइएको छ । उनले अल्जेरियाली इस्लामी साइमन ऐत अली बेल्कासेमलाई कारागारबाट भगाउन असफल सहयोग गरेका थिए । फ्रान्सेली प्रधानमन्त्री म्यानुएल भाल्सले यस घटनाबाट गुप्तचरी असफल भएको देखिएको बताउनुभयो । इस्लामी स्टेट समूहको रेडियोले उनीहरूले बहादुरीपूर्ण कार्य गरेको दाबी गरेको छ भने सोमालिया सेबाब लडाकू समूह, अल–कायदाको अफ्रिकाको प्रमुख संस्थाले त्यसलाई समर्थन गरेको बताइएको छ । यसबीच एक्युएपीको प्रमुख सरिया सदस्य हरिथ अल–नाधरीले फ्रान्समा पुनः आक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्रान्सलाई यस विषयमा सहयोग गरिने बताउनुभएको छ । यस आक्राणमा फ्रान्सका सबैभन्दा मनपराइएका केही कार्टुनचित्रकारका साथमा दुई प्रहरी अधिकारीको हत्या भएको छ । युरोपको सबैभन्दा ठूलो मुसलमान समुदायका प्रमुखले सबै धर्मगुरुलाई आतङ्कवादको भत्र्सना गर्न आग्रह गर्नुभएको छ । यसबीच पेरिसमा ‘पेरिस चार्ली हो’, तथा फ्रान्स र विश्वभर सामाजिक सञ्जालमा ‘म चार्ली हुँ’ भन्ने सन्देश र प्रदर्शन देखिएका थिए ।