‘मोहम्मदको व्यङ्ग्यचित्र बनाउँदा धरै मुसलमान किन क्रुद्ध हुन्छन् ?’


सुरेन्द्रबहादुर नेपाली
cartoonफ्रान्सको पेरिसस्थित साप्ताहिक व्यङ्ग्यात्मक पत्रिका चार्ली हेब्दोमाथिको आक्रमण र आक्रमणकारीमाथिको कारबाहीको प्रक्रिया शुक्रबार सकिएको छ । यस घटनाका आतङ्ककारीको सैनिक कारबाहीमा मृत्युभएको छ । यसबीच पेरिसले आफू चार्ली हो भन्ने घोषणा गरेको छ भने विश्वभरबाट सामाजिक सञ्जालमा ‘म चार्ली हुँ’ भन्ने प्रदर्शन देखा परेका छन् । मुसलमानका धर्मगुरु मोहम्मदको व्यङ्ग्यात्मक चित्रबाट आरम्भ भएको यस प्रकरणपछि पनि विश्वभरका अन्य पत्रिकाले यी धर्मगुरुको व्यङ्ग्यात्मक चित्र बनाउन छोडेका छैनन् र यस्ता व्यङ्ग्यात्मक चित्र बनाउने व्यक्तिमाथि आतङ्कवादी कारबाही नहोला भन्न सकिन्न । फ्रान्सेली समाचार संस्था एएफपीका अली खलिलले आफ्ना संस्थाका लागि दुबईबाट तयार गर्नुभएको आलेखमा यस विषयमा विश्लेषण गर्न प्रयास गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘‘धर्मगुरु मोहम्मदलाई फ्रान्सेली व्यङ्ग्यात्मक पत्रिकामा व्यङ्ग्यचित्रमा देखाइएपछि उत्पन्न घातक आक्रमण इस्लाममा प्रतिबन्धित भए पनि धर्मगुरुको हाँसो उडाउनुले धेरै मुसलमानलाई क्रुद्ध बनाउने छ ।’’ आनन्दका लागि धर्मगुरुको चित्र बनाउने कार्यले पटकपटक इस्लामी विश्व, अरब तथा मुसलमान नेताहरूलाई क्रुद्ध बनाएको छ । साथै धर्मगुरुहरूले यस्ता आक्रमणको पनि तत्कालै भत्र्सना गरेका छन् । सुन्नी इस्लाम अध्ययनका सबैभन्दा सम्मानित केन्द्र अल–अजहरले ‘‘इस्लामले कुनै पनि हिंसाको भत्र्सना गर्ने’’ उल्लेख गरेको छ । चार्ली हेब्दो साप्ताहिकमा दुई नकाबधारी बन्धुकधारीले बुधबार १२ व्यक्तिको हत्या गरे र उनीहरूले आफ्नो अभियान उक्त पत्रकाले प्रकाशन गरेको मोहम्मदको व्यङ्ग्यचित्रको बदला लिनु रहेको दाबी गरे । यसले यस्ता व्यङ्ग्यचित्रका विषयमा वर्षौँसम्मको विवादलाई अझै अगाडि बढाएको छ । ‘‘यी धर्म गुरु हुन जसलाई दुई अर्ब जनताले पुजा गरेका छन् । उनको हाँसो उडाउनु नैतिकता हुन्छ त ?’’ इराकका धर्म व्याख्याता अहमद अल–कुबाइसीले एएफपीसँग प्रश्न गरे । उनले यस मार्फत मोहम्मदका व्यङ्व्यचित्रमाथि मुसलमानको हिंस्रक प्रतिक्रियाकाबारेमा व्याख्या गर्ने प्रयास गरे । ‘‘फ्रान्स सबै स्वतन्त्रताको जननी हो तर पनि यसरी हाँसो उडाउने कार्य लज्जाजनक भएको कुरा कसैले पनि बताएनन्’’ उनले थपे । स्पष्टवक्ता तथा मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदले चार्ली हेब्दोले निकैपटक इस्लामप्रति असम्मान देखाएको बताउनुभयो । ‘‘मुसलमानमाथि आक्रमण हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि धर्मगुरु मोहम्मदको उपहास गर्नु उनीहरूलाई आवश्यक हुन्छ र ?’’ उहाँले बर्नामा समाचार संस्थासँग प्रश्न गर्नुभयो भनी उक्त संस्थाले उद्धरण गरेको छ । ‘‘हामी उनीहरूको धर्मलाई सम्मान गर्छौँ र उनीहरूले पनि हाम्रो धर्मलाई सम्मान गर्नुपर्छ’’, उहाँ थप्नुहुन्छ । डेनमार्कको जिलान्ड्स पोस्टन समाचारपत्रले सन् २००५ मा मोहम्मदको १२ वटा व्यङ्ग्यचित्र प्रकाशन ग¥यो र त्यसपछि मुसलमान विश्वमा हिंस्रक प्रदर्शन पैदा भए । पछिल्ला वर्षमा चार्ली हेब्दो तथा अन्य युरोपेली प्रकाशनहरूले ती व्यङ्ग्यचित्र पुनः प्रकाशन गरे । त्यसमा मोहम्मदले बम आकारको तर्बान लगाएको देखाइएको थियो । यसका कारण यी पत्रिका इस्लामी क्रोधका लक्ष्य बने । फ्रान्सेली पत्रिकाले ‘सरिया हेब्दो’ नामक संस्करण प्रकाशन गरेपछि त्यसका कार्यालयमा सन् २०११ को नोभेम्बरमा अग्निबम प्रहार भए । उक्त संकरणमा मोहम्मदको व्यङ्ग्यचित्र मुख्यपृष्ठमा छापिएको थियो । कतार विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हसन बारारीका अनुसार अरब तथा मुसलमान मुलुकमा ‘‘अरुको अभिव्यक्तिको स्वतन्त्रताको सम्मानको अभाव नै’’ यो समस्याको मूल कुरा हो । पश्चिमी परिस्थितिमा यसुको आलोचना गर्दै सजिलै चलचित्र बनाउन सकिन्छ र यस्तो स्वतन्त्र अभिव्यक्तिको पश्चिमी परिस्थिति केही व्यक्तिले नबुझ्ने उहाँले बताउनुभयो । फ्रान्सको टुलुज विश्वविद्यालयमा इस्लामी विषय अध्यापन गर्ने म्याथ्यु गुइदेरले अरब तथा इस्लाम विश्वमा सहष्णुपनाको संस्कृति तथा भिन्न मतको स्वीकृतिको नितान्त अभाव रहेको बताउनुभयो । उहाँले प्रत्येक मुसलमानमा आफू धर्मगुरु तथा इस्लामको रक्षक भएको विश्वास भएको र यस्तो भावनाका कारण यस्तो हिंसा हुने गरेको बताउनुभयो । उहाँले पश्चिमी मुलुक तथा मुसलमानबीच शत्रुताको इतिहासलाई पनि सङ्केत गर्नुभयो । उहाँले धर्ममा पश्चिमी मुलुकविरुद्धको यो भावना उनीहरूको नीतिसँग सम्बन्धित रहेको कुरा अस्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले यी कुरा विगतका उपनिवेशवाद, इजरायलप्रतिको नीति तथा अधिनायकत्वप्रतिको समर्थनसँग सम्बन्धित रहेको बताउनुभयो । बहुसङ्ख्यक इस्लामी विद्वानहरूले इस्लामले पूजा गर्ने सबै धर्मगुरुका चित्रहरूमाथि प्रतिबन्ध लगाएका छन् । यस्ता चित्रहरूले सकारात्मक सन्देश दिने भए पनि उनीहरूले मोहम्मदका सहयात्रीको चित्र बनाउने कार्यलाई पनि अस्वीकार गरेका छन् । दुबइमा बसोबास गर्ने इराकी धर्म व्याख्याता कुबाइसीले आफूहरूले जनताको मुटुमा धर्मगुरूप्रतिको भावनामा प्रभाव पर्ने गरी धर्मगुरुको विभिन्न स्वरूपको चित्र बनाउने ढोका खुला गर्न नहुने बताउनुभयो । यस प्रकारले धर्मगुरुको चित्र बनाउने कुरा प्रतिबन्ध लगाउने कुनै लिखत कुरान वा धर्मगुरुका परम्परामा नभएको उहाँले बताउनुभयो । उहाँले धर्मगुरूप्रति पूजा तथा सम्मानका कारण यी प्रतिबन्ध बनेको बताउनुभयो । धर्मगुरु वा मोहम्मदका सहयात्रीलाई चलचित्र वा टेलिभिजन कार्यक्रममा देखाउन पनि यस्तै प्रतिबन्ध लागु हुन्छ । सन् २०१२ मा मुसलमानविरोधी चलचित्र ‘‘इन्नोसेन्स अफ मुस्लिम’’ को ट्रेलर युटुबमा देखा परेपछि अनेकौँ मुलुकका सडकमा प्रदर्शन देखा परे । सन् २०१२ को सेप्टेम्बरमा यसै चलचित्रको विरोधमा देखिएको प्रदर्शनलाई कट्टरपन्थीहरूले उपयोग गरी आक्रमण गर्दा अमेरिकी राजदूत क्रिस स्टिभन्सका साथै चार व्यक्तिको लिबियामा हत्या भयो । हालका सातामा रिड्ली स्कट्सको ‘‘एक्सोडस ः गड्स एन्ड किङ्स’’ नामक चलचित्रमा धर्म व्याख्यातालाई देखाइएपछि केही मुसलमान मुलुकमा यसलाई प्रतिबन्ध लगाइएको छ । अन्त्यमा खलिलले ‘‘अल्लाहका धर्मगुरुलाई चित्रण गर्दा उनीहरूको स्तरका विषयमा आशङ्का उत्पन्न गराउनसक्ने र त्यसमा धर्मगुरुको आचरणलाई कलाकारले कहिल्यै पूर्ण रूपमा प्रदर्शन गर्ननसक्ने’’ कुरा मक्कामा केन्द्रीय कार्यालय भएको इस्लामिक फिक परिषद्ले जारी गरेको एक आदेशमा उल्लेख गरिएको उद्धरण गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?