श्रीलङ्कामा पूर्व सरकारले गैरकानुनीरूपमा शासनमा रहने प्रयास गरेको सरकारका मन्त्रीको आरोप
श्रीलङ्कामा गत साता शासनबाट हटाइनुभएका शक्तिशाली व्यक्ति महिन्दा राजापक्षेले राष्ट्रपति पदको निर्वाचनमा पराजित भएपछि पनि गैरकानुनी रूपमा शासनमा रहन प्रयास गरेको नयाँ सरकारले आरोप लगाएको छ । पूर्व राष्ट्रपति राजापक्षे गत बिहीबार निर्वाचनमा पराजित हुनुअगाडि दक्षिण एसियामा सबैभन्दा लामो समयसम्म पदमा कायम रहेका नेता हुनुहुन्थ्यो । राष्ट्रपति पदको निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व उहाँले आफ्नो पराजय स्वीकार गरेपछि उहाँको प्रशंसा गरिएको थियो । वर्तमान राष्ट्रपति सिरिसेनाका एक सहयोगीले पत्रकारहरूलाई वास्तवमा राजापक्षेले सेना तथा प्रहरी प्रमुखलाई आफूलाई शक्ति प्रयोग गरी पदमा रहनदिन मनाउन प्रयास गरेको जानकारी दिए । राष्ट्रपति सिरिसेनाले विदेशमन्त्री पदमा मनोनयन गर्ने व्यक्तिका रूपमा हेरिएका मङ्गला समरविराले जनताले उक्त घटनालाई शान्तिपूर्ण सङ्क्रमण ठानेको तर त्यो अन्यथा भएको बताउनुभयो । उहाँले नयाँ मन्त्रिपरिषदले पूर्व राष्ट्रपति राजापक्षेले बलपूर्वक सत्तामा कायम रहन गर्नुभएको प्रयास र षडयन्त्रका बारेमा अनुसन्धान गर्ने बताउनुभयो । सेना प्रमुख तथा प्रहरी महानिरीक्षक एन.के. इलानगाकुनले राजापक्षको भनाइ नमानेकाले उहाँले राजिनामा दिएको समरविराले बताउनुभयो । इलानगाकुन यस विषयमा स्पष्टवक्ता हुनुभएको र उहाँले आफू राजापक्षे बलपूर्वक शासनमा रहने कुरामा सहभागी हुन नचाहनुभएको र सेना प्रमुख दया रत्नायकेले शक्ति राजापक्षेमा कायम गर्न सैनिक तैनाथ गर्न अस्वीकार गर्नुभएको समरविराले बताउनुभयो । महान्यायाधीवक्ताको विभागले पनि यसको खतरायुक्त प्रभाव रहने चेतावनी दिनुभएको पनि उहाँले उल्लेख गर्नुभयो । पूर्व राष्ट्रपति राजापक्षेको करिब एक दशक लामो शासनकालमा देखिएका मानव अधिकारका अवस्थाप्रति उहाँले अन्तर्राष्ट्रियरूपमा आलोचना भोग्नुभएको र उहाँमाथि कूटनीतिक दबाब पनि रहेको समरविराले बताउनुभयो । राजापक्षेले तानाशाही व्यवस्था तथा नातावाद तथा भ्रष्टाचारको संस्कृति विस्तार गर्नुभएको आलोचकहरूले आरोप लगाएका छन् । विश्वका केही नेताले पूर्व राष्ट्रपति राजापक्षेसँग कुरा गरी उहाँलाई शान्तिपूर्ण सङ्क्रमण सुनिश्चित गर्न दबाब दिएको समरविराले बताउनुभयो । उहाँले कुन नेताले राजापक्षेसँग कुरा गरेको आफूलाई थाहा नभएको तर केही नेताले कुरा गरेको आफूहरूलाई थाहा भएको बताउनुभयो । पूर्व राष्ट्रपति राजापक्षेले नोभेम्बर महिनामा आह्वान गर्नुभएको निर्वाचनमा उहाँ पराजित हुने निश्चित भएपछि उहाँ पदबाट हट्नुभएको थियो भने अमेरिकी विदेशमन्त्री जोन केरी तथा सिरिसेनाले समेत उहाँलाई शुक्रबार यसका लागि धन्यवाद दिनुभएको थियो । यस विषयमा टिप्पणीका लागि सेना प्रमुख उपलब्ध हुनुभएन तर सैनिक प्रवक्ता रुवान वानिगासुरियाले आफूलाई पूर्व राष्ट्रपति राजापक्षेको शासनमा रहने प्रयासका विषयमा जानकारी नभएको बताए । समरविराले निर्वाचनको नतिजा आइरहेको समयमा के भयो भन्ने कुरा बाहिर आउनु नयाँ प्रशासनका लागि महत्वपूर्ण रहेको बताउँदै यस विषयमा स्वतन्त्र अनुसन्धान हुनु प्राथमिकता हुने बताउनुभयो । यसबीच राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्रपति सिरिसेनाले आफूले राजनीतिक अभियानमा बचन दिएको राजनीतिक तथा सामाजिक सुधारका लागि राष्ट्रिय एकताको सरकारका लागि आग्रह गर्नुभयो । नयाँ राष्ट्रपति प्रहरी, सार्वजनिक सेवा तथा न्यायपालिका सञ्चालन गर्न स्वतन्त्र आयोग स्थापना गर्न चाहनुहुन्छ भने आफ्ना धेरै कार्यकारी अधिकार संसदमा हस्तान्तरण गर्न चाहनुहुन्छ । ऐतिहासिक पहाडी नगर कान्डीबाट बोल्दै उहाँले सुशासन, कानुनी राज्य सुनिश्चित गर्न तथा जनताको जीवन सुधार गर्न आफूहरूले बचन दिएको सुधार अगाडि बढाउन सबै दलले आफ्नो आह्वानलाई स्वीकार गर्ने आफूले आशा गरेको बताउनुभयो । उहाँले सबै दललाई आफ्नो मन्त्रिपरिषद्मा समावेश हुन आग्रह गर्नुभयो । मन्त्रिपरिषद जनवरी १९ मा संसदको अधिवेशन आरम्भ हुँदा गठन हुनेछ । उहाँले पश्चिमी मुलुक तथा छिमेकी भारतसँग सम्बन्ध सामान्य बनाउन आग्रह गर्नुभयो । श्रीलङ्कामा तमिल पृथकतावादीविरुद्ध ३७ वर्ष लामो युद्धको सन् २००९ मा क्रूर अन्त्यमा नागरिकको आमहत्या भएको आरोपमा अन्तर्राष्ट्रिय रूपमा छानबिन गर्न दिन भएको आग्रह अस्वीकार गरी तत्कालिन राष्ट्रपति राजापक्षेले धेरै विदेशी नेतालाई शत्रु बनाउनुभएको थियो । राष्ट्रपतिका सिरिसेनाका अर्का प्रमुख सहयोगीले पहिले राजापक्षेका समर्थक रहेका ४० सांसदको समर्थन प्राप्त भएको र यसले उहाँलाई संविधानमा व्यापक परिवर्तन गर्ने योजनामा स्वीकृति प्राप्त हुने देखिएको जानकारी दिए । रजिता सेनारत्नेले आफूहरूलाई संसदमा आवश्यकभन्दा बढी समर्थन प्राप्त भएको बताउनुभयो । राष्ट्रपति सिरिसेनालाई यसअघि ८९ सांसदको समर्थन प्राप्त थियो भने उहाँलाई २२५ स्थानको संसदमा बहुमत प्राप्त गर्न अर्का २४ सांसद आवश्यक पथ्र्यो । नयाँ नेता आफैँ पनि राजापक्षेका दलबाट बाहिरिएका व्यक्ति हुनुहुन्छ र उहाँले पूर्व राष्ट्रपतिले आफूलाई व्यापक शक्ति दिने गरी संविधानमा गर्नुभएको निकै संशोधनलाई उल्टाउने बचन दिनुभएको छ । राजापक्षेका श्रीलङ्कन फ्रिडम पार्टीले पनि राष्ट्रपति सिरिसेनाको संविधानमा सुधारलाई समर्थन गर्ने र त्यसको कार्यान्वयनलाई औपचारिकता दिने जानकारी दिएको छ । सिरिसेनाले तत्कालिन राष्ट्रपति राजापक्षेको मन्त्रिपरिषद्बाट नोभेम्बर महिनामा राजिनमा दिई जनवरी ८ को निर्वाचनका लागि प्रतिपक्षी एकताको उम्मेदवार बन्नुभएको थियो । यसपछि सांसदहरूले उक्त दल आमरूपमा छोडेका थिए । पूर्व राष्ट्रपति राजापक्षेले बहुसङ्ख्यक सिहाली समुदायको महत्वपूर्ण समर्थन प्राप्त गरेपनि मुलुकमा बढिरहेको भ्रष्टाचारका कारण उनीहरू क्रुद्ध भएका थिए । पूर्व राष्ट्रपति राजापक्षेले केही संवेदनशील पदमा आफ्ना नातेदारलाई नियुक्त गर्नुभएको थियो । उहाँका भाइ गोताभाया प्रतिरक्षा सचिवमा नियुक्त भएका थिए ।