एनआरएनले बालुवाटारमा तीन रोपनी जग्गा किन्यो, एक महिनाभित्र भवन शिलान्यास
गैरआवासीय नेपाली संघ, एनआरएनको कार्यालय भवन बनाउनकालागि काठमाडौंको बालुवाटारमा जग्गा किनिएको छ । प्रधानमन्त्री निवास र सभामुख निवासको अगाडि तीन रोपनी जग्गा खरिद गरिएको एनआरएन प्रवक्ता मन केसीले जानकारी दिनुभएको छ । एक विज्ञप्ति प्रकाशित गर्दै केसीले प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले जग्गा खरिद गरिएको बताउनुभयो । एनआरएनले जग्गाधनीलाई चार करोड बैना दिइसकेको छ । एनआरएन अध्यक्ष शेष घलेले हाम्रा साथीहरु एक वर्षदेखि जग्गा खोज्न लागिरहनुभएको थियो ढिलै भएपनि निकै राम्रो ठाउँमा जग्गा पाइयो भन्दै यसमा लाग्नुभएका एनआरएन अमेरिकाजका उपक्षेत्रीय संयोजक सोनाम लामालाई धन्यवाद दिनुभएको छ । यस्तै जग्गा खोज्ने समितिमा सोनाम लामा, उपाध्यक्ष भवन भट्ट, राजेश राणा, शिशिर भट्ट र सुरेश चित्रकार लगायतलाई पनि घलेले धन्यवाद दिनुभएको केसीले बताउनुभयो । अध्यक्ष घलेले एक महिनाभित्रै शिलान्यास गर्ने र विश्वभर रहेका नेपालीबाट सहयोग संकलन गर्ने कार्यलाई पनि निरन्तरता दिइने बताउनुभएको छ । भवन निर्माणका लागि अहिलेसम्म १७ करोडको प्रतिबद्धता आइसकेको छ भने ५ करोड खातामा जम्मा भइसकेको छ । बालुवाटारमा जग्गा किन्दा अब लागत केही बढ्ने देखिएको छ ।