माघ आठमा संविधान जारी हुने अवस्था नरहेको सभामुख नेम्वांगको भनाई, प्रक्रिया सुरु हुने
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो माघ ८ गतेभित्र नयाँ संधिवान जारी हुने सम्भावना निकै पर पुगेको बताउनुभएको छ । सिंहदरबास्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दलहरूबीच सहमति हुनाको साटो आपसी तिक्तता र चिसोपना बढेकाले अब संविधानसभामा प्रक्रियाका माध्यमबाट संविधान निर्माण प्रारम्भ हुने पनि बताउनुभयो । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई दिइएको अन्तिम समयसीमामा पनि संविधानका अन्तर्वस्तुमा सहमति नभएकाले तोकिएको समयमा संविधान ल्याउन कठिन हुने उहाँले स्पष्ट गर्नुभयो ।आफूले अन्तर्वस्तुमा सहमति भएको अवस्थामा नियम निलम्बन गरेर छोटो प्रक्रियाबाट माघ ८ भित्र संविधान जारी गराउने प्रस्ताव गर्दा पनि दलहरू त्यसतर्फ गम्भीर नभएकाले अब संविधान, कानुन र प्रचलित अभ्यासबमोजिम प्रक्रिया अघि बढ्ने जानकारी उहाँले दिनुभयो । उहाँले सहमति जुट्न नसकेका विषयमा प्रश्नावली निर्माणका लागि सभाले विशेष समिति गठन गर्न सकिने जनाउ पनि दिनुभयो ।