सूचना आयोगका पदाधिकारीको सपथ, बाटुवाटारमा खाए कसम गोपनीयताको
राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरूले आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहणपछि प्रमुख आयुक्त बाँस्कोटाले आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिमल्सिनालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । समारोहमा सभामुख सुवास नेम्वाङ, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, शिक्षा मन्त्री चित्रलेखा यादव, कानुन मन्त्री नरहरि आचार्य, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याल, सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्ल, सह सचिव कविराज खनाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट लगायतको उपस्थिति थियो । प्रमुख आयुक्त बाँस्कोटाले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालयलगायतका निकायमा सचिवको भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँ प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको संयोजकसमेत हुनुहुन्थ्यो । सञ्चार क्षेत्रमा लामो समयसम्म काम गरिसक्नुभएका आयुक्तद्वय पोखरेल र तिमल्सिना लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय अध्यक्ष रहेका पोखरेल अन्नपूर्णपोष्ट राष्ट्रिय दैनिकको समाचार प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले हिमालय टाइम्स दैनिकमा समाचार सम्पादक, रेडियो नेपालमा घटना र विचार एवम् परिवेश कार्यक्रमको संयोजकका रुपमा रहिसक्नुभएको छ । तिमल्सिना नेपाल पत्रकार महासङ्घको पूर्व उपाध्यक्ष एवम् हाल नेपाल साप्ताहिकसँग सम्बद्ध हुनुहुन्छ ।