देशको प्राकृतिक श्रोतलाई सदुपयोग गर्दै विकासको गतिमा अघि बढ्न प्रधानमन्त्रीको आह्वान


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले शान्ति र स्थायित्वसँगै मुलुकको विकास निर्माणले गति लिने बताउनुभएको छ । उहाँले शान्ति प्रक्रियालाई अझै पनि बिथोल्ने प्रयास भइरहेको बताउँदै मुलुकको विकासको गतिलाई अगाडि बढाउन सबै नेपाली एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले भैरहवामा निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्दै देशको प्राकृतिक स्रोत साधनको सदुपयोगबाट पर्यटन क्षेत्रमा विकासको ठूलो सम्भावना भएकाले यस्तो अवसरलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल र नेपाली जनताले अब अशान्तिबाट मुक्त पाउनुपर्छ भन्नुहुँदै– शान्ति, अमनचयन कुनै पनि हालतमा हामी खल्बलिएको सहन सक्दैनौँ भन्नुभयो । उहाँले विमानस्थल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले प्रतिस्पर्धाको अहिलेको युगमा गुणस्तरीयतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका सन्दर्भमा लोकतन्त्रमा पहिलो सहमति, सहमति नभए प्रक्रिया नै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सहमतिको निम्ति केही लिने, केही छाड्ने नै ‘विन, विन’ महत्वपूर्ण हुने भन्दै यसलाई पनि नमाने प्रक्रियालाई मान्नुपर्ने बताउँदै भन्नुभयो, “अझै पनि केही शक्तिहरू शान्ति र संविधान निर्माण नहोस् भन्ने चाहनामा रहेका छन् ।” लुम्बिनी क्षेत्र वौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल रहेको भन्दै प्रधानमन्त्री कोइरालाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि लुम्बिनीजस्तो महत्वपूर्ण क्षेत्रमा धार्मिक पर्यटनको विकासको प्रशस्त सम्भावना रहेको चर्चा गर्नु भयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले यो क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि सिङ्गो लुम्बिनी क्षेत्रको पर्यटकीय विकास हुने बताउनुभयो । पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र नं ४ का सभासद् विष्णु पौडेलले कुनै पनि परियोजना सुरु गर्न र सम्पन्न गर्न त्यत्तिकै चुनौतीपूर्ण रहेको भन्दै यो महत्वकांक्षी योजना समयमै र लागतअनुसार सम्पन्न गर्न लगानीकर्ता र निर्माणकर्तालाई आग्रह गर्नुभयो । उहाँले समय मिच्ने, लागत बढाउने र गुणस्तर कमजोर हुने गरि काम नहोस् भन्दै यसमा स्थानीय सरोकारवाला सबैको गम्भीर चासो हुनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका नेता तथा रूपन्देही क्षेत्र नं ३ का सभासद् बालकृष्ण खाँणले निर्माणाधीन विमानस्थल निर्माण सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन तथा आर्थिक गतिविधिमा ठूलो योगदान पुग्ने बताउँदै नेपालको समृद्धिमा नयाँ इतिहास हुनेछ भन्नुभयो । रूपन्देही क्षेत्र नं २ का सभासद् तथा राप्रपाका महामन्त्री दीपक बोहराले विमानस्थल निर्माणसँगै लुम्बिनीमा पर्यटक आउने सहज वातावरण बनाउन थप विकासका काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । अर्का सभासद् सर्वेन्द्रनाथ शुक्लले राष्ट्रको आवश्यकताअनुसार विमानस्थल निर्माण हुन लागेकामा यस क्षेत्रको विकासमा थप टेवा पुगेको धारणा राख्नु भयो । मुख्य सचिव लीलामणि पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मूल्याङ्कन भएको सात वर्षपछि निर्माण हुन लागेकामा खुसी व्यक्त गर्दै यसले पर्यटन, आर्थिक समृद्धिको बलियो आधार निर्माण भएको र रोजगारीको अवसर मिल्ने बताउनुभयो । त्यस अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले विमानस्थल निर्माणबारे जानकारी गराउनुभएको थियो । यो विमानस्थल एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको हो । विमानस्थलको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले तीन वर्षमा निर्माण पुरा गर्ने जिम्मा पाएको छ । विमानस्थल स्तरोन्नति गर्ने जिम्मा पाएको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाले गरेको ग्लोबल टेन्डरमा नर्थ वेस्टले छ करिब अर्ब रु २२ करोडमा विमानस्थल निर्माणको जिम्मा पाएको हो । हाल १५ सय मिटरको धावनमार्गमा सञ्चालन भइरहेको यो आन्तरिक विमानस्थललाई तीन हजार मिटरको धावनमार्गसहित अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको हो । भौतिक पूर्वाधारको निर्माणअन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे (एप्रोन), टर्मिनल भवनलगायतका संरचना बन्ने छन् । एप्रोन तथा धावनमार्ग लाइटसहितको काम पनि पहिलो चरणमा नै हुने छ । विमानस्थलको स्तरोन्नतिपश्चात् काठमाडौँ आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण गर्ने विकल्प तयार हुने प्राधिकरणले जनाएको छ । स्तरोन्नतिपश्चात् गौतमबुद्ध विमानस्थलमा एअरबसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गर्न सकिन्छ । विमानस्थलको निर्माण कार्यपश्चात् काठमाडौँस्थित एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाजको अधिक चाप नियन्त्रण गर्न सहयोग पुग्ने प्राधिकरणको भनाइ छ । यस विमानस्थलको स्तरोन्नतिसँगै ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?