विपक्षी मोर्चाको कार्यदल बैठक, उपलब्धी धरापमा पर्न लागेको निष्कर्श
एकीकृत नेकपा(माओवादी), नेकपा–माओवादी र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले विगतका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्दै अग्रगामी संविधान जारी गर्नुपर्नेमा जोड दिएको छ । तीनै पक्षको संयुक्त कार्यदलको बसेको बैठकले पहिचान र सार्मथ्यको आधारमा राज्यको पुनःसंरचना हुनुपर्ने, विगतमा प्रमुख दलहरूबीच भएको सहमति तथा सम्झौतालाई भावी संविधानमा संस्थागत गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि संयुक्त जनपरिचालन गर्ने भएको छ । एमाओवादीका महासचिव एवम् कार्यदलका संयोजक कृष्णबहादुर महराले जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनबाट प्राप्त भएका राजनीतिक उपलब्धि धरापमा पर्न लागेकाले सबै परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्ने निर्णय गरिएको बताउनुभयो । सहमतिका आधारमा संविधान जारी गर्नका लागि यही माघ ५ गते देशव्यापीरूपमा जनपरिचालन गर्ने, खबरदारी जुलुस प्रदर्शन गर्ने निर्णयसमेत कार्यदलले गरेको उहाँले बताउनुभयो । यस्तै कार्यदलले शान्तिपूर्ण सङ्घर्षमा प्रहरी दमन नगर्न सरकारलाई आग्रहसमेत गरेको छ । एमाओवादी, माओवादी र आदिवासी, जनजाति राष्ट्रिय आन्दोलनको बिहीबार बसेको बैठकले जनपरिचालनका लागि कार्ययोजना बनाउन महासचिव महराको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।